केही दिन अघि मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) भएर सुर्खेत आउने सिलसिलामा पादुका स्थानको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलेको थियो। हुन त यसको बारेमा विभिन्न धार्मिक लेख रचना तथा केही विशिष्ट ब्यक्तिहरुका माध्यमबाट सामान्य जानकारी पहिले नै पाएको थिए। तर, प्रत्यक्ष अवलोकनबाट थप स्पष्ट हुने मौका मिल्यो। पादुका स्थान दैलेख जिल्लाको दुल्लु नगरपालिकाको वडा नम्बर ९ मा अवस्थित छ। यसलाई पुष्पलाल लोकमार्गले छोएको छ।
वैश्वानर पुराण, स्कन्धपुराणमा उल्लेख भएअनुसार एवम् योगी नरहरीनाथ, सुर्यप्रकाश नेपाल (यात्री) तथा डा.मधुसुधन गिरीसमेत ब्यक्तिहरुका लेखहरुमा उल्लेख गरिए अनुसार पन्चकोशीका पाँच स्थान मध्येको सत्यदेवीको पाउ पतन भएको स्थानका रूपमा परिचित एक महत्वपूर्ण धार्मिक शक्ति पीठको नाम नै पादुका स्थान हो।

यसको दर्शनका लागि आन्तरिक र बाह्य धार्मिक पर्यटकहरू पनि आउने गर्दछ्न। यो देशका अरु स्थानका धार्मिक शक्ति पीठ भन्दा फरक पहिचान बोकेको महत्वपूर्ण ऐतिहासिक धार्मिक शक्ति पीठ हो।
किनकी यहाँ भगवान महावीर जैन, बुद्ध, नारायण, शक्तिरुपा, नवदुर्गा भगवती, शिद्धिविनायक, गणेश, कृष्ण, गरुढ, नाग सिंह, विष्णु पादुका चरण, महादेव लगायतका मानव, जीवजन्तु तथा पशुपन्छीका मुर्तीहरु चौकुने ढुङ्गामा आकर्षक तरिकाले कुदिएका छन्।
हुन त यो विशेषगरी शिव महादेवको विशेष शक्ति पीठ तथा धाम हो। तर, पनी यहाँ शिव, दुर्गा, गणेश, भगवती, जैन, बुद्धनारायण समेतका मुर्तिहरु एकै ठाउँमा भएकाले पनि यसको विशेष महत्व रहेको बिषय झल्किन आउँछ।
यहाँ साना ठुला गरेर सयौं देवल छन्। यहाँका केही शिला लेखमा ॐ, माने पेमे होम, बौद्ध र हिन्दुहरुको साझा मन्त्र लेखिएको पढ्न पाइन्छ।
जुम्लाको चन्दनाथ मन्दिरको अखण्ड ज्वाला र डोटी, बैतडीका कतिपय धार्मिक पीठहरुका अखण्ड ज्वाला जलाउनका लागि यही पादुका स्थानको अखण्ड ज्वाला लिएर नै जलाउने गरिन्छ। यहाँको धार्मिक गद्दी समाल्ने तथा विशेष पुजाआजाको काम वालापीठ (अविवाहित वालक) बाट गराउने प्रचलन रहिआएको छ भने दैनिक पुजाआजाको काम योगी समुदायका पुजारीबाट भै आएको छ। यसको विशेष रेखदेख महन्तबाट गरिन्छ।

तर, दुःखको कुरा भन्नुपर्छ, यो मन्दिरभित्र रहेका महत्वपूर्ण मुर्तिलाइ घाम पानीबाट बचाउनका लागि सामान्य छानोको ब्यवस्था हुनसकेको देखिएन। मन्दिर क्षेत्रको घेरबार पनि राम्ररी हुनसकेको छैन। मन्दिर छेउछाउमा रहेका कतिपय महत्वपूर्ण मुर्तिहरु माटोले पुरिएको अवस्था छ भने राम्ररी उत्खनन गर्ने हो भने महत्वपूर्ण देवल तथा मुर्तिहरु भेटाउन सकिने सम्भावना रहेको पाइन्छ।

अतः यो मन्दिरको उचित मर्मत सम्भार तथा संरक्षणमा विशेष ध्यान दिनका लागि स्थानीय समुदाय, तीनै तहका सरकार स्थानीय, प्रदेश र संघ तथा अन्य सम्बन्धित निकायको ध्यान जान अत्यन्त जरुरी देखिन्छ। साथै विशिष्ट महत्व बोकेको यो धार्मिक स्थलको भ्रमणका लागि पनि विभिन्न महानुभावहरुले विशेष ध्यान दिन आवश्यक छ।
बाेगटी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन्।





















