सुर्खेत। दैलेखको नारायण नगरपालिका वडा नम्बर ४ का अन्दाजी ४५ वर्षीय किसान जीवनबहादुर कठायतले १९ रोपनी जमिनमा धान खेती गरेका थिए। नारायण नगरपालिका–४ सोत गाउँको मार्सिखेतमा कठायतले १९ रोपनी जग्गामा बर्षेनी ४० मुरी धान फलाउँथ्ये। गत कात्तिक १९ गते साझको समयमा आएको असिना–पानीले उनले महिनौंदेखि गरेको मेहनत माटोमा मिलाइदियो। खेती किसानबाटै घरपरिवार पाल्दै आएका कठायत भित्र्याउँनै लागेको धान बाली असिनाले नष्ट गरिदिँदा चिन्तित छन्।
उनले मार्सिखेतमा रहेको १९ रोपनी जग्गमा धान खेती तथा घरमा लगाएको तरकारी बाली समेत क्षती गरेको बताए। ‘कात्तिक १९ गते आएको अविरल असिना पानीले एक माना धान पनि नहुनेगरि सबै झारिदियो। हामीलाई मानो रोपेर मुरी भित्र्याउँने समयमा आएको विनाशकारी असिनाले महिनौंदेखि गरेको मेहनत माटोसँगै बगाएर लग्यो ।’ साथै किसान कठायतले सरकारलाई आफ्नो मेहनतको उचित मुल्याकंन गरेर पीडामा परेका किसानहरुको घाउँमा मलमह लगाउँने कुरामा विश्वस्त रहेको बताए।

यस्तै, सोही गाउँकी किसान पार्वति खड्काको पनि मार्सिखेतमा रहेको ढेड रोपनी जग्गामा लगाएको सबै धान असिनाले नष्ट गरिदिएको छ। उनले नारायण नगरपालिका–४ को भुवाखाँडामा ७ रोपनी जग्गामा भएको धान पनि पूर्णरुपमा क्षती भएको बताइन्। पार्वतिले भनिन्, ‘आफ्नो खेत वरिपरी गाउँलेहरुका पाकेर लहलह झुलेका धान बालीलाई असिना पानीले पूर्णरुपमा क्षती पुर्याएको छ। मेरो मात्रै धान बालीमा नभइ मेरो खेत भन्दा वरपर रहेका कसैको ८, कसैको १०, ७, ११, ३, १५, १४ रोपनीमा लगाएको धानको बालामा एउटा पनि दाना छैन्। किसान पार्वतीले मार्सिखेतमा रहेको करिब ५० रोपनी र भुवाखाँडा एरीयाको २०–३० रोपनी, तामा खोलामा करिब १५ देखि २० रोपनी जग्गामा लगाएको धानमा असिनाले नष्ट गरेको दुखेसो पोखिन्।
जीवनबहादुर, पार्वती जस्तै सोही ठाउँकी खम्बीरा कटुवालले लगाएको वर्षभरी खान पुग्ने अन्न एकै दिनको असिना पानीले सखाप पारिदिएको छ। किसान खम्बिराले कार्तिक १९ गते साझको समयमा आएको असिना पानीले खाद्यान बालीमा कामनै नलाग्ने गरि क्षती गरेको दुखेसो पोखिन्। उनले भनिन्, ‘नारायण नगरपालिका ४ सोतको यो मार्सिखेतमा मेरो ११ रोपनी जग्ग थियो। १५ मुरी धान उत्पादन हुने गरेको अहिले धानको एक दाना पनि छैन्। पराल मात्रै छ।’
झण्डै एक करोडको क्षती
यस्तै, कात्तिक १९ गते साझ नारायण नगरपालिका ४, ५ र १० नम्बर वडाका विभिन्न ठाउँका लगाएको खेतीबारीमा परेको असिना पानीले झण्डै एक करोडको क्षती गरेको छ। कृषकले भित्र्याउन लागिरहेको धानबालीमा दाना नै नरहनेगरी नोक्सानका साथै व्यवसायिक कृषकले लगाउँदै आएको काउली, बन्दा, टमाटर, आलु, लसुन, रायो साग जस्ता तरकारी बाली पनी पूर्णरुपमा नोक्सान गर्दा झण्डै एक करोड बराबरको बालीमा क्षती गरेको किसानहरुले बताएका छन्।
नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय दैलेखका, जिल्ला प्रहरी कार्यालय, अखिल नेपाल किसान महाँसंघ, कृषि विकास कार्यालय, नगर कृषि शाखाका कर्मचारीहरुले प्रत्यक्ष अनुगमन गर्दा झण्डै करोड बराबरको क्षति भएको दाबी किसानहरुको छ।
नारायण नगरपालिका दैलेखका कृषि शाखाका शाखा प्रमुख खेमराज शर्माले ४४ हेक्टर क्षेत्रफलमा लगाएको १८१ किसानको खेतबारी असिनाले नष्ट गरेको बताए। उनका अनुसार १७१ सिकानहरुको जना धान बाली र ९ जना किसानको तरकारी असिनाले नष्ट गरेको छ। १ जना किसानको सुन्तलामा क्षती गरेको छ।
यस्तै, असिनाले धान बालीमा १४४ मेक्टिटन क्षेत्रफलबाट ८६ लाख ४८ हजर बराबर, १८ मेक्टिन तरकारी बालीबाट ९ लाख, १ लाख १० हजर बराबरको सुन्तला र १ मेक्टिन दलन–तेलन बाली भटमास र तोरी गरेर १ लाख ५० हजार गरी जम्मा ९८ लाख ८ हजार मुल्य बराबारको खाद्यान्न बाली क्षती नारायण नगरपालिका कृषि शाखाका शाखा प्रमुख शर्माले जानकारी दिए।
प्राकृतिक विपद (पहिरो, बाढी) तथा रोग कीराको प्रकोपको व्यवस्थापनमा ध्यान नदिइँदा किसानहरु ठूलो मात्रामा क्षतिग्रस्त चपेटामा पर्ने गरेको, सरकारी निकायबाट राहतका कार्यक्रम र प्रयाप्त प्राविधिक सहयोग नहुँदा किसानहरूले व्यावसायिक कृषि धरासायी हुन पुगेको गुनासो व्यावसायिक किसानले गरेका छन्।

राहतका लागि पहल गर्दैछौँ : नगरपालिका
असिना–पानीले धान बाली नष्ट गरेपछि नारायण नगरपालिकाले किसानको खेतमै पुगेर अनुगमन गरिरहेको छ। अनुगमन गरेर किसानले लगाएको बालीमा भएको नोक्सानको एकिंग गरेर केही क्षतीको तथ्यांक संकलन गरिसकेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख लोमन शर्माले असिनाले क्षती गरेको धान बालीको विवरण संकलन गरेर राहतका लागि पहल गरिरहेको बताए। उनले भने, ‘हामीले हाम्रो पालिकाभित्र धान बाली, तरकारी लगायतका किसानका खेतबारीमा असिनाले क्षती पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गरेर मुचुल्का बनाएर विवरण लिइरहेका छौँ। सबै क्षतीको विवरण संकलन गरिसकेपछि पालिकाले दिने सक्ने राहत पालिकाले जुटाउँने र बाँकी राहतका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा पठाउँदैछौँ।’
सरकारले सक्ने सहयोग गर्छ : मन्त्री शाह
यस्तै, कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त असिना–पानीले क्षती गरेको धान खेतको प्रत्यक्ष अनुगमन गरेका छन्। मंगलबार (कार्तिक २७) गते नारायण नगरपालिका–४ सोतमा रहेको मार्सिखेतमा असिनाले नष्ट गरेको धान बालीको अनुगमन गरेका हुन्।
असिनाले क्षती पुर्याएको खेतबारीको अनुगमन गर्दै मन्त्री शाहले क्षतीको सबै विवरण संकलनपछि सरकारले आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे। मन्त्री शाहले भने, ‘क्षतीको क्षेत्र मैले आफै पुगेर हेरीसकेको छु। प्राकृतिक प्रकोपलाई हामीले रोक्न सकिदैन्। राहतका लागि धानबाली क्षेती भएका किसानहरुले आफ्नो नाम प्रहरी मुचुल्का बनाएर ज्ञापन पत्रमा नछुटाउँनु भनेको छुँ। सरकारले गर्न सक्ने आवश्यक सहयोग गर्न सरकार तयार छ।’























