गाउँ अब उस्तै रहेन। कताकता पुराना झ–झल्काहरू, कताकता ताजा घाउहरू। कहिले यो गाउँ बिहानै चराहरूको चिरबिर हटले ब्यूँझिन्थ्यो, अनि चौतारोमा पहेंलो घामसँगै कसैको हाँसो सुनिन्थ्यो। अहिलेसम्म त्यही पीपलको चौतारो उभिएको छ। तर, त्यहाँ न हाँसो छ। न त गफगाफ। त्यहाँ बाँचेको छ त केवल मौनता, रुखको पातहरूसँग सुम्सुम्याउँने बतास अनि टाढिन लागेको जीवनको सम्झना।
गाउँ सुनसान छ। कहिल्यै भीडभाड रहने त्यो चौतारी अब चुपचाप छ। बिहान सबेरै गाई-गोरु हाँक्ने बुढाबुढीका स्वर, स्कुल जाने बालबालिकाको हर्षोल्लास, खेततिर लाग्ने युवाका तिब्र पाइलाहरू यी सब सम्झनामा सीमित भएका छन्।
मानिस बसाँइ सर्दै छन्। कुनै घरको ढोका आधा खुलेको छ त कुनैमा ताला लागेको छ। तर, तिनले बाँचिएका कथाहरूको सास अझै सुनिन्छ। प्रदेश जाने सपना बोकेका तन्नेरीहरू आमा–बुबाको आर्शिवादमा बिदाइ भई कतै–कतैबाट पठाइएको रेमिट्यान्सले घरको भित्ता पोतिन्छ। तर मनको पर्खाल झनै उजाडिन्छ।
उही पुरानो पीपलको चौतारी। जहाँ पहिले गाउँको बैठक बस्थ्यो त कहिले भलाकुसारी चल्थ्यो। अहिले त्यहीँ चौतारो एक्लोपन, बिछोडको र मौनताको साक्षी बनेर उभिएको छ। गाउँ सुनसान हुँदै गएको छ।
आमाले छोरीहरूलाई झ्यालबाट बोलाउने स्वर हराएको छ। बुबाले खेतको बाटो हाक्ने पाइलाहरू चुपचाप छन्। गाउँका काकाहरूको ‘ए के छ खबर?’ भन्ने स्वरहरु टाढा गइसकेका छन्। दिनभर खेल, गीत र गफ चल्ने त्यहीँ चौतारोमा हिजोआज दिनैभर घाम र छायाँ मात्र बस्छ।
सबै बसाँइ सर्दैछन्। धेरैले गाउँ छोडे त कतिले देश नै । सबैभन्दा धेरै सरे—तन्नेरीहरू। कसैले गल्फको तातो मरुभूमिमा पसिना बगाए, कसैले कोरियाको कडा शीतमा काम गरे। उनीहरूले पाएको त हो पैसा, मोबाइल, बाइक। तर बिर्संदै छन्—हाम्रो खेतको गन्ध, चौतारोको आत्मा, गाउँको मौन मुहार।
गाउँका घरहरू बाक्लै थिए, अब टाढा टाढा छन्।
घरभित्र बत्ती बल्छ, तर मनभित्र अँध्यारो बाक्लिन्छ।
उही पीपलको चौतारो अझै त्यहीं छ—एक्लो। जसले कहिल्यै हार मानेन्। जसरी देशले पनि कहिल्यै आफ्ना सन्तानहरूलाई बिर्सदैन। त्यो चौतारो पर्खिरहको छ। ती फर्कने पाइलाहरूको आवाज, बाल्यकालका हाँसो, अनि त्यो आदर्श युग—जहाँ गाउँ नै संसार थियो। तर, के साँच्चै फर्किन्छ त्यो दिन?
जस दिन गाउँमा फेरि बिहानको चिया चौतारोमा पिइन्छ। जहाँ बुढाबुढीको हात समातेर तन्नेरीहरू आफ्नै खेत जोत्न पुग्छन्, जहाँ स्कूलको घण्टीले फेरि बालापन जगाउँछ। हाम्रो गाउँ—हामीले माया गरेकै हो। तर, माया सम्झनामा मात्र सीमित हुँदा, त्यो माया पनि कति कमजोर बन्छ।
त्यसैले अब हामी फर्किनुपर्छ। शरीरले होस् या आत्माले। पीपलको चौतारो एक्लो छ। तर, पर्खाइ बलियो छ।
त्यसको जरा अझै गहिरो छ, जस्तै हाम्रो माटोसँगको नाता।
गाउँ हराएको छैन, हामी हराएका हौं।
चौतारो अझै उस्तै छ, फर्कने बाटो कुरेर बसेको छ।






















