ओम शाही, सुर्खेत । यसवर्षको बडा दसैँको रौनक देशैभर छाइसकेको छ । देश तथा विदेशमा अध्ययन, रोजगारी तथा विविभन्न पेशा, व्यवसायमा संलग्न रहेकाहरु दसैँ सुरुभएसँगै घर पुगेका छन् । कतिपयको यात्रा बाटोमै जारी छ । वर्षभरी घरपरिवारबाट टाढा रहनेहरु धमाधम मनमा उत्साह लिएर स्थल र हवाईमार्गबाट घर फर्किने क्रम बढेको छ । यो क्रम दसैँको अघिल्लो दिसम्म जारी रहन्छ । दसैँमा लामो बिदा हुने भएकाले पनि अधिकांश घर फर्कन्छन् । तर, जब दसैँ लगायतका चाडपर्व सुरु हुन्छन्, तब आकाशमा यात्रुको भाग्य र भरोसा बनेर गन्तव्य तय गराउनेहरुको समय भने भ्याइनभ्याइ बन्छ । हजारौ फिटको उचाईमा जहाज उडाउनु अन्य पेशा–व्यवसाय जस्तो हुँदैन । उनीहरु शारीरिकसँगै मानसिकरुपमा उचाईसँगै हमेसा फिटफाट रहनुपर्छ ।

दैनिक हजारौ फिटको उचाईमा हजारौ यात्रुको आशा बोकेर उड्ने विमान चालक (पाइलट), जसलाई कुनै पनि सयम खास वा विशेष हुँदैनन् । कतिपय अवस्थामा घरपरिवार दसैँको टीका थापिरहेको समयमा उनीहरुको शुभसाइत आकाशमा बतिरहेको हुन्छ । यीनै मध्येकी राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमकी को–पाइलट सिर्जना रावतका चाडपर्व पनि यसरी नै बित्छन् । उनलाई अघिपछिमात्रै होइन चाडपर्वको सयममा पनि आकाश छोड्ने फुर्सद हुँदैन । तर, यस पटक उनले दसैँका लागि भनेर छुट्टी लिएकी छन् । ‘म प्राय जसो चाडबाडमा प्लाइटमै हुन्छु । पोहोर साल ससुरा बित्नु भएकाले फ्लाइटमा थिइन ।’
परार साल दसैँको टीकाको दिन उनी जहाजको ककपिटमै बसेर दुवई जादै थिइन । त्यहाँबाट फर्केर टीकाको तीन दिनपछि मात्रै उनी घर पुगेगिन । ‘परार साल टीकाको दिन म दुवैको फ्लाइटमा थिए । टीकाको तेस्रो दिन घर पुगियो । मेरो श्रीमान् पनि पाइलट नै भएकाले उहाँ पनि त्यहि दिन आउनु भएपछि हामीले राती मात्रै टीका लगाएका थियौ । फ्लाइटमै हुन्छु प्रायजसो,’ उनले भनिन् । यस पटकको दसैँ भने सिर्जनाले परिवारसँग मनाउदै छिन् । गत वर्ष सिर्जनाका घर पट्टीका ससुरा नाता पर्ने आफन्त बितेपछि उनको दसैँ थिएन । यसपटक उनैको पहिलो तिथि दसैँको केही दिनअघि परेकाले उनी घर जाने योजनामा छिन् । पारिवारिक सल्लाहअनुसार तिथि पनि गर्ने र दसैँको दिन टिका पनि लगाउने तयारीमा उनी छन् ।
दसैँ र तिहार दुवै मन पर्छ । तर, साथिभाईसँगको भेटाघाट र रमाइलोका हिसावले सिर्जनालाई तिहार मनपर्छ । ‘दसैँमा खासै घर जान पाइदैन । यो पटकको दसैँ कति धेरै समयपछि परिवासँग मनाउन लागेकी छुँ । दसैँको टीका थाप्न जादा सबैसँग भेट हुन्छ, अरु बेला खासै भेट्ने समय मिल्दैन,’ उनले भनिन् । झण्डै पाँच वर्ष बढी सयम यताका दसैँ बुवाआमासँग मनाउन पाएकी छैनन् उनले । माइतिमा कहिले आफन्त बितेर जुठो पर्ने त, कहिले आफ्नो समय नमिल्ने हुँदा उनका लागि दसैँ नै बुवाआमासँग भेट्ने बहाना बन्न सकेको छैन । उनलाई चाडपर्वको समयमा विशेषभन्दा ठिक्कको मसलेदार नेपाली खानासँगै कोरियन, थाइ खान मन पर्छ । प्याकेटको खाना उनलाई पटक्कै मन पदैन । उनलाई तडकभडकका पहिरन पनि मन पदैनन् । प्रायजसो उडानमै समय बित्ने हुँदा छुट्टीको सयमा उनी घुम्नभन्दापनि सुत्न मन पराउछिन् । ‘उडानको समयतालिका एकै हुँदैन । कहिले दिउँसो हुन्छ ।

कहिले रातको समयमा हुन्छ । रातको समयमा भएको बेला दिनको समयमा सुत्न परिहाल्यो । दिउँसो त जहाज उडाउनै प¥यो । त्यसैले म फुर्सदको समयमा बढी रेष्ट गर्न नै मन पराउछु । घुम्न जान भनेर छुट्टी लिएपछि मनपर्ने ठाउँहरुमा घुम्न गइन्छ,’ उनले भनिन् । पाइलट पेशामा लागेसँगै उनलाई साथिभाईहरुलाई समय दिन खासै फुर्सद छैन । आन्तरिक आकाशमा जहाज उडाउदासम्म उनीसँग कतै न कतै समय बचत हुन्थ्यो । तर, जब अन्तराष्ट्रिय उडानमा यात्रा अघि बढ्यो, तब साथी संगतीको समय एकातिर उनको समय अर्कोतिर हुन थालेको सिर्जना सुनाउछिन् । फुर्सदको बेला बढी रेष्ट गर्नुपर्छ, फ्लाइटको चाप भएको बेला समय नै निकाल्न गारो हुने उनी सुनाउछिन् । उनका अनुसार दसैँ हुन वा यस्तै चाडपर्वमा पाइलटसँगै उडान दलका सदस्यहरुले घरबाटै आवश्यक सामग्री लैजान्छन् । उडान गन्तव्यमा पुगेर जहाज अवतरण भएपश्चात समय मिलाएर क्याप्टेनबाट टीका लगाउने, ठुलाले सानालाई दक्षिणा दिएर चाडपर्व मनाइन्छ । चाडपर्वको समयमा जहाज उडाउन नपरेपनि हुन्थ्यो जस्तो कहिले काँही उनलाई लाग्छ । ‘दसैँ–तिहारमा मात्रै नभई अन्य चाडपर्वमा आफन्तहरुलाई बोलाइएको हुन्छ, त्यति बेला आफु बिचैमा उठेर जाँदा नरमाइलो लाग्छ । रक्षा बन्धन होस् या तीज सबैसँग बसेर रमाइलो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, जिम्मेवारी पुरा गर्न पनि त पर्नेछ,’ सिर्जनाले सुनाइन ।
को हुन् सिर्जना ?
सरकारको स्वामित्वमा रहेको वायुसेवा निगमले ८ मार्च २०२३ मा इतिहासमै पहिलो निर्णय लियो । सो दिन निगमको राष्ट्रिय ध्वजावाहक आरए २३० उडान नम्बरको विमान दुबईबाट काठमाडौंका लागि उड्ने तयारीमा थियो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तय भएको त्यो दिन किन पनि महत्त्वपूर्ण थियो भने, त्यस विमानको ककपिट र क्याबिन क्रुमा सबै महिला थिए । उडानमा पाइलट भावना गिरी पन्त, को–पाइलट सिर्जना रावत, आईएफएस बास्ना राना, फ्लाइट पर्सर अन्जक महर्जन, एयर होस्टेस सङ्गीता केसी र अनिशा प्रजापतिले सकुशल विमानलाई स्वदेश ल्याएर महिलाको नाममा इतिहास रचेका थिए । विमानको को–पाइलट सिर्जना रावत कर्णालीको प्रतिनिधित्व गरेकी उनै साहसी महिला थिइन्, जो उनीभन्दा पहिला कर्णालीबाट आकाशमा उड्ने हिम्मत अरु महिलाले राखेका छैनन् ।
रोग, भोक र गरिबीको लघुताभाषले थिचिएको कर्णालीको प्रतिनिधित्व गर्दै सिर्जनाले देश तथा विदेशमा आफ्नो नाम मात्रै राखेकी छैनन्, कर्णालीको नामसमेत रोशन गरिरहेकी छन् । सुर्खेतको वीरेन्द्रनगर– ६ की सिर्जना सम्भवतः कर्णाली प्रदेशको पहिलो महिला विमानचालक हुन्, जसले ३५ देखि ३८ हजार फिटमा जहाज उडाइरहेकी छन् । एसएलसी दिँदै पाइलट बन्ने सपना बुनेकी सिर्जनालाई उनको मिहिनेत, परिवारको सहयोग र साथीभाइको हौसलाले सपना पूरा गर्न मद्दत ग¥यो । दसैँको अवसर पारेर हामीले उनको पाइलट यात्रा कसरी तय भयो ? र कसरी सफल भयो ? भन्ने विषयमा पनि उनीसँग जिज्ञासा राखेका थियौ । सिर्जना २०६३ सालमा एसएलसीमा सहभागी भएकी थिइन् । एसएलसी दिएसँगै जहाज उडाउने सपना बुनेकी सिर्जनाले एसएलसीमा टप नम्बर ल्याउन सफल भइन् ।
‘एसएलसी दिँदै गर्दा विमानचालक बन्ने सपना बुनिसकेकी थिएँ, एसएलसीपछि म काठमाडौं पढ्न गएँ,’ उनले भनिन्, ‘भाग्यवश मेरो जन्म छोरीलाई पढाउनुपर्छ भन्ने परिवारमा भयो, मेरो रहर पूरा गर्न बुवाआमाले पढाउनुभयो र सपना पूरा गरेँ । काठमाडौंको बसाइका क्रममा प्लस टु गरिसकेपछि सिर्जना तालिम लिन साउथ अफ्रिका गइन् । त्यहाँ उनले सफलतापूर्वक विमानचालकको तालिम पूरा गरिन् । विमानचालकको तालिम पूरा गर्दा आफूले जीवनको ठूलो खुसी प्राप्त गरेको महसुस भएको सिर्जना बताउँछिन् । ‘पाइलट भएँ भनेर म अत्यन्त खुसी थिएँ, मेरो परिवार र समाज पनि अति खुसी थियो,’ उनी भन्छिन्, ‘तालिम पूरा गरे पनि मैले जहाज उडाउन भने निकै संघर्ष गर्नुप¥यो, हरेक दिन म र बुबा फाइल बोकेर धेरै वायुसेवा कम्पनीमा धाउनुप¥यो ।’
काम नपाएपछि उनी सुर्खेत फर्किएर स्नातक पढ्न थालिन् । उनले स्नातक तह पूरा गर्ने अन्तिम चरणमा हुँदा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पाइलटका लागि विज्ञापन खोल्यो । दुई सय जना पाइलट प्रतिस्पर्धामा थिए । लोकसेवाले लिएको पाइलटको परीक्षामा सिर्जना सफल भइन् र निगमबाटै एयरबस उडानको तालिम लिन इन्डोनेसिया पुगिन् । इन्डोनेसियामा दुई महिनाको तालिम पूरा गरेर उनी नेपाल फकिइन् । आफूले जीवनमा चाहेको कुरा ढिलै भए पनि प्राप्त गर्न सफल भएको उनले बताइन् ।
उनको विमानचालकको अनुमतिपत्र अनुमोदन नहुँदै कोभिड महामारी सुरु भयो । महामारीका कारण भएको लकडाउनलाई सदुपयोग गरेर उनले स्नातकोत्तर गरिन् । उनले वायुसेवा क्षेत्रकै व्यक्तिसँग विवाह गरेकी छन् । ‘कुनै बेला मेरा केही देशहरू सपनाको संसार हुन्थे, ती देशहरू अहिले आफ्नो कामको सिलसिलामा पुग्न पाएको छु,’ सिर्जना भन्छिन्, ‘उड्डयन क्षेत्र यस्तो फिल्ड हो, जसको कार्यालय आकाशमा हुन्छ । ३५ देखि ३८ हजार फिट माथि आकाशमा खाना–खाजा खाने अनुभूति मैले गरिरहेको छु । यसमा म खुसी छु ।’ आफ्नो उडानका क्रममा कर्णाली क्षेत्रबाट जाने यात्रु भेटिँदा उनीहरूले आफूप्रति देखाउने माया र कदरले थप हौसला मिल्ने गरेको मीठो अनुभव उनीसँग छ ।






















