सुर्खेत । कर्णाली प्रदेशमा दसैँकाे अवधिमा सडक दुर्घटनामा परी चार पुरुष, एक महिला र एक बालक गरी ६ जनाले ज्यान गुमाएका छन् । यस्तै, एक सय ३२ जना घाइते भएका छन् । जसमा ५६ जना गम्भीर घाइते हुँदा ७६ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार चाडपर्व सुरक्षा योजना लागु भएयता ५१ सडक दुर्घटनामा ६१ सवारी परेका छन् । प्रदेश प्रहरीले दसैँ लगायतका चाडपर्वलाई लक्षित गरेर ६ असोजबाट चाडपर्व सुरक्षा योजना–२०८२ लागु गरेको थियो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै सडक दुर्घटना सुर्खेतमा भएका छन् । यस अवधिमा सुर्खेतमा १९ सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने ४३ जना घाइते भएका छन् ।
यस्तै, रुकुम पश्चिममा १० सवारी साधन दुर्घटनामा पर्दा २५ जना घाइते भएका छन् । सल्यानमा ६ वटा सडक दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्, भने नौ जना घाइते भएका प्रहरीको तथ्यांकले देखाउँछ । दैलेखमा चार सडक दुर्घटनामा एक जनाको मृत्यु हुँदा २६ घाइते भएका छन् । जाजरकोटमा चार सडक दुर्घटनामा परी एक जनाको मृत्यु र १५ जना घाइते भएका छन् । यस्तै, कालीकोटमा तीन वटा सडक दुर्घटना भएका छन् । जसमा पाँच जना घाइते भएका छन् । जुम्लामा चार सडक दुर्घटनामा परी आठ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । यस्तै, डोल्पामा एक सडक दुर्घटनामा परी एक जना घाइते हुँदा यस अवधिमा मुगु र हुम्ला सडक दुर्घटनामुक्त बनेका छन् ।
प्रहरीको तथ्यांकलाई केलाउने हो भने विगतको यहि अवधिको तुलनामा यस वर्ष कर्णालीमा सडक दुर्घटनामा कमी आएको छ । यस अवधिमा प्रदेशभर जघन्य अपराधमा समेत कमी आएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदेशका १० वटै जिल्लामा विगत तीन आर्थिक वर्षको अवधिमा दसैँ–तिहार लगायतका चाडपर्वका समयमा देखिएका सडक तथा सुरक्षा चुनौतीलाई सुक्ष्म विश्लेषणमार्फत यसवर्षको सुरक्षा रणनीति तय गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले बताए । दसैँ सकिन अझै केही दिन बाँकी रहेकाले दुर्घटनाको जोखिम कायम रहेको उनले बताए । चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर एक हजार दुई सय १८ वटा ड्युटीमा तीन हजार नौ सय आठ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
प्रहरीले सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र जाँचलाई तीव्रता दिएको छ । जसमा ५३ वटा मोबाइल गस्ती, एक सय १२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्यूआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन र एक सय ७८ वटा पैदल गस्ती र २० वटा लामो तथा छोटो दुरीका प्रहरी गस्तीसमेत परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन एक सय ३० स्थानमा जाँचस्थल राखिएको छ भने, ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक जाँच भइरको प्रदेश प्रहरीले जनाएको छ ।
यस्तै, ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा परिचालन गरिएको छ । जसले सवारी आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पु¥याउने प्रहरीको विश्वास छ । यस्तै, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको छ ।
यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवक्ता खनालले बताए । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छ भने, बैंक तथा वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरीले जनाएको छ । बढी भिडभाड हुने क्षेत्रमा २४ सैं घण्टा निगरानीसँगै कर्णाली भित्रने नाकामा तालिम प्राप्त कुकुर खटाइएको छ । प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । यस्तै, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राखेर चल्ने सवारी साधनहरूलाई कारबाहीको दायरामा ल्याउन विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको छ । यसवर्ष सम्भावित सडक दुर्घटना हुने क्षेत्रको पहिचान गरी त्यस्ता संवेदनशिल क्षेत्रमा प्रहरीले मोटरसाइकल गस्तीसमेत गरिरहेको जनाइएको छ ।






















