सुर्खेत । यस वर्षको वडादसैँ तथा तिहारकाे माैकाछोपी गाउँबाट विभिन्न उदेश्यले सहर पसेकाहरु धमाधम गाउँ फर्कन थालेका छन्। असोज २६ गते परेको विजय दशमीलाई मध्यनजर गरि अध्ययन, रोजगारी तथा व्यापार व्यवसायका बाहिर रहेकाहरु गाउँ फर्किन थालेका हुन्।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशका १० वटै जिल्लाका नागरिक बसोवास गर्छन्। उच्च शिक्षा, व्यापार, व्यवसाय तथा रोजगारीका लागि हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटका नागरिक पनि गाउँ जान थालेका छन्।
पछिल्लो समय दसैँ–तिहारको समयमा घरपरिवार आफन्तहरु सबैजना मिलेर घुम्न जाने, रमाइलो गर्ने चलन बढ्दै गएको छ। दसैँ–तिहारको समय लामो बिदा हुने गर्दछ, भने अर्को कुरा यो समय घुम्न मन पराउनेहरुका लागि उपयुक्त समय हो। वर्षायाम सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि घुम्नका लागि दसैँको समय उपयुक्त मानिन्छ।
हामीले यस समाचारमा तपाईंहरूलाई थप सहज होस भन्ने हेत्ले तपाईंहरू अवस्थित नजिकैको स्थान तथा जिल्लाहरुमा घुम्न र रमाइलो गर्न पर्यटकीय सुन्दर गन्तव्यहरुको जानकारी दिएका छौँ।
कर्णालीप्रदेश प्रदेश प्रकृतिको सुन्दरताले मात्रै हैन्। सभ्यताको दृष्टिले उन्नत छ। कर्णाली यस्तो प्रदेश हो। जहाँ अन्यत्र नभएका अतभुत दृश्य देख्न पहिन्छ। मुलुककै लामो कर्णाली। नदी, भेरी नदी, जटिबुटी, जलस्रोत, रितिरिवाज, परम्परा, लोक साहित्य, भाषा, संस्कृति, खेलकुद र प्रकृति र पर्यटनका हिसाबले यसले सम्रग राष्ट्रको नै प्रतिनिधित्व गरेको छ।
नेपाली खस भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, नेपाली भाषाको उद्यगम थलो सिँजा, नेपालकै ठूलो ताल रारा, गहिरो ताल फोक्सुण्डो, नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सबैभन्दा उच्च स्थानमा फल्ने मार्सि धान, एक हजार भन्दा पुरानो हल्जी गुम्बा र विभिन्न दुर्लभ वन्यजन्तु र वनस्पतिको विविधताले भरीपूर्ण कर्णाली प्रदेश घुम्न धेरै पर्यटकहरु लालाहित हुने गर्दछन्।
सुर्खेत
सुर्खेत कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर पछिल्लो समय विकसित हुँदै गइरहेको सुन्दर एवं व्यवस्थित सहरमा पर्दछ। यहाँ घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुन्दर पर्यटकीय गन्तव्यहरुले पर्खिरहेका छन्।
प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यका आसपासभित्रै पर्यटकको ध्यान खिच्ने थुप्रै आकर्षणहरु छन्। घुमफिरका लागि काँक्रेविहार, देउती बज्यै, बुलबुले ताल, शहिद पार्क, घण्टा घर, गोठीकाँडा लगायत मुख्य पर्यटकीय गन्तव्यहरु हुन्।
प्रदेश राजधानी वीरेन्द्रनगरमा झर्ने जो कोहीका लागि काँक्रेविहार मन्दिर सबैको रोजाईमा पर्ने गर्दछ। काँक्रेबिहारको बेजोड कलात्मक शिखरशैलीको स्थापत्यले पर्यटकलाई मुग्द पार्दछ। काँक्रेविहारलाई दोस्रो लुम्बीनाका रूपमा पनि लिने गरिन्छ।
काँक्रेविहारसँगै वीरेन्द्रनगर उपत्यकामा बुलबुले ताल पनि रहेको छ। दसैँ नजिकिएसँगै विशेष गरी यी क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल समेत बढेको छ। बिदाको दिन भन्दा अन्य दिन ५ सयदेखि ७ सयसम्मको हाराहारीमा पर्यटकहरु आउने गरेका छन्।
वीरेन्द्रनगरको बुलबुले, काँक्रेविहार मात्र नभएर सुर्खेतका पर्यटकीय क्षेत्रहरु देउती बज्यै मन्दिर, काठमाडौँको नगरकोटको उपमा पाएको गोठिकाँडा, पातल दरबार, घण्टाघर लगायतका ठाउँहरु पनि रारा, जुम्ला, दैलेख जाने पर्यटकलाई एकपटक घुम्न बाध्य बनाउनछन्। साथै नजिकै रहेको भेरी नदीमा ¥यापटिङ्ग गर्न सकिन्छ।
काठमाडौँदेखि सिंधै हवाइजहाव तथा सडक यातायातका साधनबाट यात्रा सकिने सुर्खेत उपत्यका समुन्द्रि सतहबाट ६६५ मिटरको उचाईमा अवस्थित छ।
दैलेख
समुन्द्रि सतहदेखि लगभग १ हजार मिटरको उचाईमा रहेको दैलेख सदरमुकामसम्म सडक यातायात मार्फत पुग्न सकिन्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ७० किलोमिटरको दुरीमा रहेको दैलेख जिल्लाको पञ्चकोशी क्षेत्र प्रख्यात एतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाको खानी हो।
यसमा श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला क्षेत्रको दर्शन गर्न सकिन्छ। यहाँ श्रीस्थान र नाभिस्थानमा निरन्तर प्रज्योलित ज्वालाको दृश्य हेर्न लायक छ।
दैलेखको दुल्लुमा नेपाली भाषाको पहिलो अभिलेख छ। यहाँ थुर्पै पुरातात्विक महत्वका धारा, मठमन्दिर र देवलहरु देख्न सकिन्छ। सदरमुकाम दैलेख बजारमा रहेको कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, दुल्लु दरबार, मदानताल, गुराँसे र महाबु क्षेत्र प्रमुख पर्यटकिय गन्तव्यमा पर्दछन्।
कर्णालीको विकास पर्यटनमा नयाँ आयम थपेको दैलेखको श्रीस्थान, नाभिस्थान क्षेत्रमा चिनियाँ सरकारको सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना पर्यटकका लागि यहाँको अर्को आकर्षण केन्द्र हो। साथै दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे पनि दैलेखमा बसोबास गर्ने गर्दछ।
कालिकोट
सुर्खेतबाट सार्वजनिक तथा निजी सडक यातायातका साधनमार्फत कालिकोट सदरमुकाम मान्म पुगिन्छ। समुन्द्री सतहबाट २ हजार मिटरको उचाईमा रहेको कालिकोटको मान्म सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरबाट १४८ किलोमिटरको दुरीमा छ।
यहाँका पञ्चदेवल, बडिमालिका, तिलागुफा, पचालझरना हेर्न लायक धार्मिक एंव पर्यटकीय स्थलहरु छन्।। पिलि युद्ध पर्यटनले चर्चामा छ। शान्ति स्थापनापछि यस ठाउँलाई युद्ध पर्यटन क्षेत्र घोषणा गरि स्मारक र भ्यु टावर बनाइएको छ। कर्णाली राजमार्गबाट देखिने सुन्दर बस्तीहरुले मन लालाहित पार्छन्।
कर्णालीकै मुहार फेर्न परियोजनाका रुपमा हेरिएको फुकोट कर्णाली जलविद्युत आयोजना यसै जिल्लामा पर्दछ।
जुम्ला
सुर्खेतबाट बस तथा नेपालगञ्जबाट हवाइजहाजमार्फत जुम्ला जिल्ला पुग्न सकिन्छ। वीरेन्द्रनगरबाट २२९ किलोमिटरको दुरी र समुन्द्री सतहबाट २ हजार ५१४ मिटरको उचाइमा रहेको जुम्ला खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर छ। वरिपरि पहाडले घेरिएको बीचमा सुन्दर उपत्यका छ जुम्लाको सदरमुकाम खलंगा। जहाँ सडक यातायातमा कर्णाली राजमार्ग हुँदै पुग्ने गरिन्छ।
कर्णाली सभ्यताको मूल थलो एवं तत्कालि खस सामराज्यको राजधानी सिँजा उपत्यका जुम्लामै पर्दछ। सिँजा उपत्यका २२ सैय र २४ सैय राज्यको समयमा एक बलियो राज्यका रुपमा रहेको थियो। सदरमुकाम जुम्लाबाट सडक यातायातमार्फत सजिलै सिँजा क्षेत्र पुग्न सकिन्छ।
जुम्लाको सिँजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो। जुम्ला सदरमुकाम खलंगा बजारबाट तीन घण्टाको बसयात्रापछि सिँजा उपत्यका क्षेत्र पुगिन्छ। सिंजा क्षेत्रहुँदै रारा पुग्न सकिन्छ। पर्यटकहरुलाई आर्कषित गर्नका लागि जुम्लामै तातोपानीका कुण्ड र धारा छन्। तातोपानीमा नुहाए स्वास्थ्य लाभ हुने विश्वास बोकेर मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन्। स्वास्थ्य लाभ हुने विश्वास छ।
यस्तै, जुम्लामा कान्जीरोवा, पातारासी हिमाल छन्। सदरमुकाम खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर, आकाशे ताल, गुठीचौर पनि छ। विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ।
मुगु
सुर्खेतको वीरेन्द्रनगरबाट सकड यातायातबाट सिँजाहुँदै तथा नेपालगञ्जदेखि हवाइ यातायातबाट मुगु गमगढी स्थित ताल्चा विमानस्थल पुग्न सकिन्छ। मुगुमा नेपालकै ठूलो राराताल छ। रारामा अन्त नपाईने स्नोट्राउट प्रजातिको माछा पाईन्छ। मौसम खुलेमा तालको पानीमा देखिने सप्तरङले आगुन्तकलाई मोहित पार्दछ।
सुर्खेतदेखि करीब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ।
यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ। राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिएका थिए। रारामा घोडसवार र डुङ्गा शयरको आनन्द लिन सकिन्छ। मुर्माटपलाई राराको भ्यूटावर भनिन्छ
। त्यहाँबाट राराको पूरै स्वरुप क्यामेरामा कैद गर्न सकिन्छ। झण्डै १० हजार फिट उचाईमा रहेको रारा तालमा ढुंगा तथा घोडा सवार गरेर मज्जा पनि लिन सकिन्छ।
ताल वरिपरि घुम्नका लागि परिकम्रा पदका रुपमा टेकिङ्ग हुन्छ। यहाँको कञ्चन पानीमा माछा, हास, जलेवा जस्ता चराहरुले डुबुल्कि मारेको अनुपम दृश्य देख्न पाइनुका साथै तालका छेउमा रहेका फुलका सुगन्ध र सौन्र्दयले पर्यटकलाई आन्दित तुल्याउँछ।
हुम्ला
नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट। करिब ३ हजार मिटरको उचाईमा रहेको हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि मुख्य प्रवेशद्धार हो। जहाँ १ हजार वर्ष पुरानो हल्जी गुम्बा छ। सदरमुकाम सिमकोटबाट लिमी उपत्यका हुँदै मानसरोवर पुग्न सकिन्छ।
लिमी उपत्यकाको लाप्चाबाट मानसरोवर समेत देख्न सकिन्छ। प्राचिन कालिन मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो लिमी। हिल्सा उत्तरी छिमेकी राष्ट्र चिनसँग जोड्ने एक मुख्य नाका हो। सुर्खेत र नेपालगञ्जदेखि हवाइजहाजबाट सिमकोट विमानस्थल पुग्न सकिन्छ।
हुम्ला र मुगुको सिमानामा चंखेली हिमाल छ। यस हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ। हिन्दु र बौद्ध दुबैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ। कर्णाली मुलुककै सबैभन्दा लामो नदी कर्णाली नदी पनि हुम्ला जिल्लाबाट नै बग्ने गर्दछ।
डोल्पा
नेपालको गहिरो तालको रुपमा चिनिएका फोक्सुण्डो ताल रहेको डोल्पामा धार्मिक दृश्टिले प्रसिद्ध तीर्थस्थल त्रिपुरासुन्दरी मन्दिर छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, दुर्लभ वन्यजन्तु हिउचितुवा र रेडपाण्डाको बासस्थान हो। तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ।
विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका पनि डोल्पामै पर्दछ। साथै माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ।समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा रहेको डोल्पाको सदरमुकाम दुनै पुग्न सुर्खेतकबाट सवारी साधनमा जाजरकोट हुँदै र नेपालगञ्जबाट हवाइ यात्रामार्फत पनि डोल्पा पुगिन्छ।
विश्वमै बहुमूल्य जडिबुटीका रुपमा बिक्री हुने यार्सागुम्बा बढी मात्रमा यसै जिल्लामा पाहिन्छ।
जाजरकोट
वीरेन्द्रनगरबाट जाजरकोटको खगंला १४० किलोमिटरको दुरीमा छ। सुर्खेतबाट जाजरकोट वा सल्यान जाँदा छिन्चु–जाजरकोट सडकखण्डमा सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा निर्माणधिन राष्ट्रिय गौरवको आयोजना भेरीबबई डाइभर्सन आयोजनाको बाध अवलोकन गर्न सकिन्छ। नेपालमै पहिलो पटक सुरुङबाट पानी डाइभर्सन गरिदैछ।
जिल्ला सदरमुकाम खंलगको आडैमा रहेको जाजरकोट दरबार क्षेत्र २०८० साल कात्तिक १७ रातिको भूकम्पले क्षति पु¥याएको छ। यो जाजरकोट जिल्लाको प्रसिद्ध पर्यटकिय क्षेत्र हो।
भेरी करिडोरका आसपासका सुन्दरबस्ती जाजरकोट र डोल्पाको समृद्धिको उजागर गर्ने परियोजनाको रुपमा आकलन गरिएको नलगाड, जगलुल्ला जस्ता निर्माणधिन जलविद्युत आयोजनाको समेत यस अवसरमा घुमेर अवलोकन गर्न सकिन्छ।
रुकुमपश्चिम
सडक यातायातका साधानबाट सजिलै रुकुमपश्चिको सदरमुकाम खलंगा पुग्न सकिन्छ। वीरेन्द्रनगरदेखि रुकुमपश्चिको सदरमुकाम मुसिकोट खंलगा १६७ किलोमिटरमा छ।
डिगे्र साइ मन्दिर, कुमारी मन्दिर बाफिकोट गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्यार्पु ताल यस जिल्लाका प्रमुख गन्तव्य हुन्। स्यार्पु तालमा आफै बोटिङ्ग गरेर मज्जा लिन सकिन्छ।
सल्यान
वीरेन्द्रनगरदेखि सल्यानको सदरमुकाम खगंला १०६ किलोमिटरको दुरीमा पर्दछ। सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपन्डिे दह प्रदेश राजधानी जिल्ला सुर्खेतसँग जोडिएको छ। सुर्खेतको वीरेन्द्रनगर देखि सवारी साधनमार्फत सजिलै कुपिन्डे दह पुग्न सकिन्छ। छोटो दुरी प्रकृतिको अनुपम सुन्दरता र कम खर्चिलो भएका कारण कुपिन्डे दह धेरैको रोजाइमा पर्ने गर्दछ। कुपिण्डे दह दसैँ–तिहार बिदामा घुम्नका लागि उपयुक्त रहेको छ।
जिल्ला सदरमुकाम शारदा नगरपालिका खलंगादेखि करिब २४ किलोमिटर पश्चिममा पर्ने यो दह निकै मनोरहम र आकर्षण छ। कुपिन्डे दहसँगै जिल्लाकै धार्मिक स्थल छत्रेश्वरी मन्दिर, खैराबाङ भगवतीदेवी मन्दिर, शंखमुल यहाँका थप पर्यटकीय स्थल दसैँमा घुम्नका लागि उपयुक्त गन्तव्य रहेका छन्।
सल्यान सुन्तला, खुकुरी, अदुवा तथा तरकारीका लागि प्रसिद्ध जिल्ला पनि हो।






















