सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११, अमृतडाँडाका रत्नबहादुर वली उमेरले ७२ वर्षका भए । उनी २०५५ सालतिर सुर्खेतकै सिम्ता गाउँपालिकाबाट वीरेन्द्रनगर उपत्यकामा बसाइ सरेका थिए । तत्कालीन समयमा उनी बसाइ सरेको अमृतडाँडामा अहिलेको जस्तो बस्ती विकास भइसकेको थिएन । बिजुली, खानेपानी, सडक र सञ्चारको सुविधा पनि वलीको बस्तीमा पुगेका थिएनन् । उनीहरूको परिवार इनार र कुवाबाट खानेपानीको जोहो गर्थ्यो । जनघनत्व कम भएकै कारण उतिबेला स्वच्छ खानेपानी सहजै प्राप्त हुन्थ्यो । तर, विस्तारै बस्ती विस्तार हुँदै गयो । पानीका स्रोतहरू सुक्दै गए बाँकी रहेका पनि प्रदूषित बन्दै गए । त्यसको केही समयपछि वीरेन्द्रनगर उपत्यकामा खानेपानीको समस्या समाधान गर्न झुप्रा खोलाको पानी ल्याइयो । झुप्रा खोलाको पानी वलीको घरमा पनि पुग्यो ।

उनले झण्डै चार/पाँच वर्ष ढुक्कले पानी खाए । तर, केही वर्षयता भने वलीको घरमा झुप्रा खोलाको पानी बिरलै पुग्छ । प्रदेश राजधानी बनेयता वीरेन्द्रनगरमा ह्वात्तै शहरीकरण बढेको छ । जनसंख्याको चापअनुसार खानेपानीको स्रोत कम हुँदा बिग्रिएको आपूर्ति सन्तुलनका कारण वलीले अहिले निकै समस्या व्यहोर्नुपरेको सुनाउँछन् । ‘पहिले बस्तीहरू पातला थिए, कुवा र इनारको पानी पनि खान योग्य थियो,’ उनी भन्छन्, ‘अहिले त नगदेवालीजस्तै घर बनेका छन् । इनार खन्दा पनि सजिलै पानी आउँदैन । भएका पनि खडेरीमा सुक्छन् ।’
यो समस्या वलीले मात्र भोगेका छैनन् । वीरेन्द्रनग नगरपालिका– १, की मनिषा शाहीको घरमा पनि केही वर्षयता धारामा पानी विगतको जस्तो जाँदैन । झुप्राको पानी अनियमित हुन थालेपछि उनको परिवारले जारको पानी प्रयोग गर्ने गरेको छ । उनी भन्छिन्, ‘हामी सुरुमा वीरेन्द्रनगर आउँदा नियमित धारामा पानी आउथ्यो, तर केही वर्षयता भने खानेपानीको आपूर्ति निकै अनियमित छ । धारामा कहिले पानी आउँछ थाहा नै हुँदैन ।’ उनको अनुमानमा चार वर्षयता आफ्नो टोलमा खानेपानीको समस्या देखा पर्न थालेको हो । वीरेन्द्रनगर प्रदेशको मुकाम भएसँगै बढेको जनसंख्याका कारण यो समस्या झन् विकराल बनेको उनको अनुभव छ । ‘धारामा नियमित पानी आउँदैन । आए पनि निकै सानो आउँछ,’ उनि भन्छिन्, ‘प्राय जारको पानी प्रयोग गर्छौं, पानी त जसरी पनि खानैपर्यो ।’
शनिबार वली अमृतडाँडास्थित भेरी लिफ्ट खानेपानी आयोजनाको मुख्य ट्याङ्की निर्माणाधीनस्थलमा पुगेका थिए । उक्त स्थानमा उनी हप्तामा दुई/तीन दिन नबिराई गइरहन्छन् । यो त्यही महात्वाकांक्षी आयोजना हो, जसले खानेपानीको हाहाकार व्यहोरेका वीरेन्द्रनगरका वलीजस्ता लाखौँ नागरिकलाई स्वच्छ पिउने पानीको जोहो गर्न भौतारिनुपर्ने बाध्यता अन्त्य गर्नेछ । यो आयोजना संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको लागत साझेदारीमा गतवर्षदेखि कार्यान्वयन भइरहेको छ । जसले भेरी नदीको ५६० लिटर प्रतिसकेन्ड पानी तानेर वीरेन्द्रनगरवासीलाई दीर्घकालीन स्वच्छ खानेपानीको पहुँचमा पुर्याउनेछ ।
१३ भदौ २०८१ बाट सुरु भएको आयोजना निर्धारित समयमा सपन्न हुने आशाबीच अघि बढिरहेको छ । वलीले निर्माणस्थलको काम हेर्दा तोकिएकै समयमा पानी आउनेमा ढुक्क रहेको बताए । शाहीले पनि आफ्नो घरअघिबाट आयोजनाका धमाधम पाइप लाइन विस्तार भइरहँदा खानेपानीको समस्या पार लाग्ने अपेक्षा गरेकी छन् ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा अघि बढिरहेको आयोजना कार्यान्वयनको नेतृत्व वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ । जसमा ८० प्रतिशत संघ, १३ प्रतिशत प्रदेश र सात प्रतिशत वीरेन्द्रनगर नगरपालिकाको साझेदारी छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालय सुर्खेतका प्रमुख सञ्जीवकुमार शाहले हालसम्म आयोजनाले २० प्रतिशत भौतिक प्रगति हासिल गरेको बताए ।
उनका अनुसार प्याकेज– १ अन्तर्गत लेकबेँसी नगरपालिका– १०, मा पानी प्रशोधन प्लान्ट, वीरेन्द्रनगर– ११ को अमृतडाँडामा ३०/३० लाख क्षमताका तीनवटा मुख्य ट्याङ्ककी निर्माण कार्य जारी छ । यस्तै, पानी प्रशोधन प्लान्टबाट मुख्य ट्याङ्कीसम्म पाइपलाइन विस्तार कार्य पनि अघि बढ्ने चरणमा छ । पहिलो प्याकेजअन्तर्गत अमृतडाँडाबाट वीरेन्द्रनगर उपत्यकाका विभिन्न स्थानमा निर्माण हुने ट्याङकीसम्म विस्तार गरिने पाइपलाइन बिछ्याउने कार्य जारी छ । उनका अनुसार ३५ किलोमिटरमध्ये हालसम्म २१ किलोमिटर पाइप बिछ्याउने कार्य सम्पन्न भएको छ ।
‘हालसम्म आयोजनाले २० प्रतिशत भौतिक प्रगति गरेको छ,’ उनले भने, ‘पहिलो प्याकेजअन्तर्गतका कामले गति लिएका छन् । बीचमा कुनै प्राविधिक वा स्थानीयस्तरमा समस्या नआए दुई वर्षभित्र भेरीको पानी उपत्यकामा आउँछ ।’
उनका अुसार पहिलो प्याकेज तीन अर्ब ५० करोड आठ लाख रुपैयाँ लागतमा सम्झौता भई काम अघि बढेको थियो । दोस्रो प्याकेजअन्तर्गत प्रत्येक घरधुरीमा पाइप सञ्जाल विस्तार, धारा जडान र आयोजना सञ्चालन र व्यवस्थापन प्रणाली निर्माणका लागि ग्लोबल टेन्डर आह्वान भइसकेको उनले बताए । उनका अनुसार अबको केही समयमा उक्त ठेक्का खोल्ने तयारी छ ।
यसरी बनेको थियो भेरी लिफ्टको अवधारणा
वीरेन्द्रनगरमा खानेपानीको समस्या अहिलेको भने होइन, २०५७ सालमा स्थापना भएको झुप्रा बृहत् हालको सुर्खेत उपत्यका खानेपानी संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । तत्कालीन सयममा झुप्रा बृहत्को डिजाइनमा २०७१ सम्म बढ्न सक्ने एक लाख चार हजार जनसंख्यालाई आधार मानिएका थियो । २०६० सालमा वीरेन्द्रनगरको कुल जनसंख्या ५४ हजार थियो । झुप्रा बृहत खानेपानी आयोजना निर्माणपछि वीरेन्द्रनगरमा २०६४ सम्म खानेपानीको सहज आपूर्ति हुन्थ्यो ।

तर, २०६१/२०६२ मा तत्कालीन नेकपा माओवादी र राज्यपक्षबीच चलेको सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेको थियो । सोही समयमा सुरक्षाका कारण वीरेन्द्रनगर बसाइ सर्नेको संख्या ह्वात्तै बढ्यो । जसका कारण २०७१ मा एक लाख चार हजार जनसंख्या पुग्ने आकलन गरिएकोमा चार/पाँच वर्षअघि नै वीरेन्द्रनगरको जनसंख्या दोब्बर भएपछि मागअनुसारको खानेपानी पुर्याउन सकस भइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारी बताउँछन् । वीरेन्द्रनगरमा खानेपानीको हाहाकारको शृंखला प्रदेश राजधानी भएयता झन् चुलिएको छ ।

२०७२ को संविधान जारी भएपश्चात् सुर्खेतलाई कर्णालीको राजधानी बनाइयो । राजधानीका सम्पूर्ण संरचनाहरू वीरेन्द्रनगरमा स्थापना भए । त्यसपश्चात् वीरेन्द्रनगरको जनसंख्या एक्कासि बढ्यो । झण्डै २० हजार चार सय २९ घरधुरीलाई पुगनपुग पानीको आपूर्ति भइरहेको अवस्थामा यो संख्या बढेर झण्डै ३५ हजार पुगेपछि खानेपानीको आपूर्ति शृंखला झनै बिग्रिएको तिवारी बताउँछन् ।
सुर्खेत उपत्यकामा अहिलेको अवस्थामा तीन सय ७१ लिटर प्रतिसेकेन्ड पानी आवश्यक रहेकोमा आपूर्ति भने एक सय ५४ लिटर मात्रै रहेको उनी बताउँछन् । उनका अनुसार सुरुमा झुप्रा खोलाबाट मात्रै पानी ल्याइएको थियो । पछि माग बढ्दै गएपछि खरी र बोरी खोलाको पानी झुप्रामा थप गरियो । तर, मागअनुसारको आपूर्ति भने हुन नसकेपछि वीरेन्द्रनगरमा दीर्घकालीन खानेपानीको विकल्प खोजियो । त्यही विकल्पस्वरूप २०७३ सालमा भेरी लिफ्टको अवधारणा अघि सारिएको उनी बताउँछन् ।
उतीबेला संस्थाको साधारणसभाबाट भेरीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगरमा ल्याउने प्रस्ताव पारित गरिएको थियो । त्यसको झण्डै आठ वर्षपछि आयोजना कार्यान्वयन गएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी अघि बढाइएको आयोजनाबाट ल्याइने भेरीको पाँच सय ६० लिटर प्रतिसेकेन्ड र अहिले आपूर्ति भइरहेको एक सय ५४ लिटर प्रतिसेकेन्ड पानीले वीरेन्द्रनगरमा सन् २०५० सम्म वृद्धि हुनसक्ने जनसंख्याको आवश्यकता धान्ने उनी बताउँछन् ।





















