dinvari.com

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकारी हराएको प्रकरण : १० दिन अघि नै मारिएका थिए टोपबहादुर

सुर्खेत । २३ फागुनमा सुर्खेतका ६ जना व्यक्ति सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरे । जिल्लाको बराहताल गाउँपालिका–१, का पाँच र लेकवेशी नगरपारिकाल–८, का एक गरी ६ जना भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दूरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए ।

उक्त सिकारी समूहमा थिए, बराहतला गाउँपालिका–१, का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री ।

यस्तै, लेकवेशी नगरपालिका–८, का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै थिए । देश प्रतिनिधिसभा निर्वाचनमा होमिएको समयमा उनीहरू सिकारका लागि जंगल छिरेका थिए । स्थानीयका अनुसार उनीहरू मौका छोपेर सिकारका लागि निकुञ्जमा पसिरहन्थे ।

पूर्वयोजना मुताविक निकुञ्ज प्रवेश गरेका उनीहरू अकस्मात २३ फागुनमै घर फर्किए । तर, घर फर्कने मध्येमा थिएनन्, ३३ वर्षीय टोपबहादुर खत्री । चोरी सिकारी गर्न नपाइने कडा कानुनको नजरअन्दाज गरेर निकुञ्ज पसेकाहरू घर फर्कदा भने निकै हतास देखिन्थे । यसको कारण थियो, सँगै गएका टोपबहादुरको मृत्यु ।

बिहान सिकार गएकाहरू एक्कासी घर फर्के, तर टोपबहादुर फर्केनन् । घर फर्केकाहरूले उनी उतै जंगलमा मरेको सुनाए । तर मृत्युको कारण भने खुलाएनन् । आफ्ना परिवारका सदस्यसँग केही नभन्नु भन्दै सोही दिन उनीहरू भारततर्फ भागे ।

यो घटना सोमबार मात्र सार्वजनिक भएको हो । पिडकहरूले परिवारका सदस्यलाई टोपबहादुरको मृत्यु भएको खबर कसैलाई नभन्नु भनेका थिए । तर घटनाका बारेमा सिकार खेल्नसँगै गएका सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई घटनाका बारेमा सुनाइन ।

घटनाका बारेमा थाहा पाउना साथ महतरा तत्काल प्रहरी चौकी रानिघाट पुगेपछि घटनाको रहस्य बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार स्थानीय आसे महतराले सोमबार बिहान आफ्ना साला नाता पर्ने टोबहादुर खत्रीसहित ६ जना सिकार खेल्न गएको अवस्थामा सम्पर्कविहन भएको जानकारी गराएका थिए ।

महतराले आफ्ना साला टोपबहादुरको मृत्यु भएको जानकारी गराएसँगै प्रहरी चौकी रानिघाटबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजतलासमा खटिएको थियो । उक्त टोलीले घटनाका बारेमा थप बुझेर जिल्ला प्रहरी कार्यालय बर्दियालाई खबर गरेको छ । प्रवक्ता बुढथापाका अुनसार घटनास्थल बर्दिया जिल्लामा पर्दछ ।

उनले १० दिनअघि अर्थात २३ फागुनमा घटना घटेको र अभियूक्त पाँचै जना भारततर्फ लागेको हुनसक्ने बताए । उनका अनुसार एक आपसमा झगडा भएको वा जनावरलाई हानेको गोली मृतक भनिएका टोपबहादुरलाई लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरूको खोजि कार्य सुरु भइसकेको उनको भनाई छ । घटना घटेको बर्दिया राष्ट्रिय निकुञ्ज र बराहताल गाउँपालिकाको वडा नम्बर १ सिमावर्ती क्षेत्र हुन् ।

उत्तरी पानी ढलो सुर्खेत र दक्षिण पानी ढलो बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछन् । यता बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ खोजतलास जारी राखिएको बताए ।

उनले निकुञ्जका तर्फबाट अुनसन्धान अधिकारी तोकेर प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘घटनाका बारेमा समाचार आएपछि हामीलाई थाहा भएको हो । हामीले आवश्यक मुभ लिइसकेका छौँ । मंगलबार नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारीलगायतको टोली ड्रोन क्यामेरासहित घटनास्थलमा खटिएर खोज तलास गर्छ,’ सूचना अधिकारी पौडेलले भने ।

अन्तिम अद्यावधिक मिति: २०८२ चैत्र ९, सोमबार १९:३७

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री