सुर्खेत । नेपाल सरकारद्वारा १४ वर्षअघि नै प्रतिविन्धित नेटवर्किङ व्यवसायमार्फत युवाहरु ठग्ने स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालक तथा कर्मचारीविरुद्ध ६४ लाख बिगो मागसहति सुर्खेत प्रहरी अदालत पुगेको छ । रोजगारीको प्रलोभनमा नेटवर्किङ सञ्जाल विस्तार गरी युवाहरुबाट ५० हजारदेखि दुई लाखसम्म ठगी भएको मुद्दामा अनुसन्धान सकेर प्रहरीले स्काई ड्रिमका सञ्चालकसहित आठ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा बिगो मागसहित ठगी कसुरमा मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले एक सय बढी युवाहरुलाई रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने गिरोहमाथिको अनुसन्धान सकिएको बताए ।
रोजगारीको प्रलोभनमा पारी रकम ठगी गरेको उजुरीका आधारमा गत ५ साउन २०८२ मा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, मूलपानी चोकस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिमार्फत ग्लोबल ओरियन्स नेपाल प्रालिमा बेरोजगार युवायुवतीलाई सीप सिकाई आकर्षक तलब सुविधासहित रोजगारी दिने प्रलोभनमा रकम असुलीमा संलग्न गिरोहलाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेपछि ठगीमा परेका थप युवाहरु सम्पर्कमा आउनेक्रम जारी रहेको शाहीले बताए । ‘पहिलो चरणमा ठगीमा संलग्नहरुमाथि अनुसन्धान गरी बिगो मागसहित जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन पेश गरेका छौं,’ शाहीले भने, ‘यस मुद्दामा थप सम्पर्कमा आएकाहरुको विवरण संकलन भइरहेको छ ।’
शाहीका अनुसार ठुलो संख्यामा युवाहरु ठगिएको घटना सार्वजनिक भएसँगै प्रहरी निरीक्षकको कमाण्डमा छुट्टै यूनिट बनाएर अनुसन्धान गरिएको थियो । उनले वीरेन्द्रनगर प्रदेशको केन्द्र बनेसँगै वीरेन्द्रनगरमा विभिन्न सीप सिकाउने तथा रोजगारी दिने नाममा ठगी हुनेक्रम बढेको पाइएकाले यसप्रति सचेत रहनुपर्ने बताए । युनिटी र हर्बो इन्टरनेसनललगायतले पिरामिड शैलीमा सञ्जाल विस्तार गरी सर्वसाधारणको अर्बौं रकम ठगी गरेको व्यापक गुनासोपछि १५ चैत २०६८ मा सरकारले यस्तो व्यवसायमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो ।
सरकारको नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाउने उक्त निर्णय कानुनसम्मत भएको फैसला १४ वर्षअघि नै सर्वोच्च अदालतले गरिसकेको थियो । तर, सर्वोच्चको फैसला अपव्याख्या गरी सर्वसाधारण व्यापक ठगिएको नेटवर्किङ व्यवसायलाई २०७७ असारबाट सरकारले सञ्चालनको इजाजत दिन सुरु गरेसँगै पुनः सर्वसाधारण ठगिने क्रम सुरु भएको छ । वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाँड्न सुरु गरिएसँगै वैधानिक रूपमै नागरिक ठगिएका घटना बाहिर आउन थालेका छन् । सर्वोच्च अदालतले स्वच्छ प्रतिस्पर्धा र उपभोक्ताको हितमा प्रतिकूल प्रभाव नपर्ने गरी कानुनी व्यवस्थामार्फत प्रत्यक्ष व्यवसायका लागि अनुमति दिन सकिने गरी फैसला गरेको थियो ।
यही फैसलाको अपव्याख्या गर्दै सरकारले घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई वैधता दिएपछि नेटवर्किङ व्यवसायीहरू सलबलाएका हुन् । नयाँ बनेको कानुनमा पनि नेटवर्किङ शैलीको व्यवसायमा रोक लगाइए पनि देशभर इजाजत लिएका कम्पनीहरूले नेटवर्क सञ्जाल विस्तार गरिरहेका छन् । हालसम्म आइबोस ग्लोबल इन्टरनेसनल प्रालि, नेचर हब्र्स इन्टरनेसल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ प्रालि, केयर माट्र्स इन्टरप्राइजेज प्रालि, यु टर्न इन्टरनेसनल प्रालि, ग्लोबल ओरियन्स प्रालि, अपि लाइफ इन्टरनेसनल, गोल्डेन नेपाल मार्केटिङ प्रालिलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले इजाजतपत्र बाँडिसकेको छ ।
यिनैमध्येको ग्लोबल ओरियन्स नेपाल प्रालिले सुर्खेतमा पिरामिड शैलीको सञ्जाल विस्तार गरी उच्च शिक्षा अध्ययन गरिरहेका बेरोजगार युवाहरूलाई ट्र्यापमा पार्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ । कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई वीरेन्द्रनगरमा शैक्षिक गतिविधि सञ्चालन गर्ने नाममा खोलिएको स्काई ड्रिम इन्टरप्रेनर्सले ग्लोबल ओरियन्समा जागिर लगाउने भन्दै धमाधम युवाहरू ठगिन थालेको गुनासो बढेपछि यसका सञ्चालक तथा नेटवर्किङ व्यवसाय विस्तारको काम गर्नेहरु सुर्खेत प्रहरीको पञ्जामा परेपछि नेटवर्किङ ठगीको विषय पुनः सतहमा आएको हो ।
यी कम्पनीहरूले खुल्लमखुला कार्यालय खडा गरेर सामाजिक सञ्जाललगायतका माध्यमबाट नेटवर्क सञ्जाल बनाएर व्यापक ठगी गरिहेका छन् । नेटवर्किङ व्यवसायमा आधारित यस्ता कम्पनीका कार्यालयहरू देशका प्रमुख सहरहरु झापा, बिर्तामोड, हेटौँडा, चितवन, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा सञ्चालनमा रही सोझासाझा बेरोजगार युवायुवतीलाई व्यापक स्क्याम गर्ने गरिएको यी कम्पनीले सामाजिक सञ्जालमा गर्ने विज्ञापनमा देख्न सकिन्छ । वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐनको दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने उल्लेख छ । वस्तु खरिद गर्नुपूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनुपर्ने अवस्था भएको सञ्जालयुक्त कार्य, एक वस्तु खरिद गर्दा अन्य वस्तुसमेत एकमुस्ट प्याकेजमा खरिद गर्नुपर्ने सञ्जालयुक्त कार्य, वस्तु खरिद गर्ने व्यक्तिले आफूमातहत अर्को प्रत्यक्ष बिक्रेता वा वितरक बनाउन नसकेको अवस्थामा आफूले भुक्तानी गरेको रकम वा लाभ बराबरको वस्तु प्राप्त गर्न नसक्ने स्थितिको सञ्जालयुक्त कार्य गर्न कानुनले बन्देज गरेको छ ।
यस्तै, वस्तुको कारोबार नगरी केवल प्रत्यक्ष बिक्रेता वा वितरक बनाई शुल्क मात्र लिने गरी गरिने सञ्जालयुक्त कार्य, कम्पनीले वस्तु बिक्री गर्ने प्रयोजनका लागि व्यावसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार दिई वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने वा महँगो वस्तु खरिद गर्न लगाउने सञ्जालयुक्त कार्यसमेत कानुनले गैरकानुनी मान्दछ । वस्तुको खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने व्यापारिक कार्ययोजना भएको सञ्जालयुक्त कार्य वा कुनै वस्तुलाई अप्रत्याशित लाभ हुने वा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने अलौकिक वस्तु हो भनी विश्वासमा पारी बिक्री वा वितरण गर्ने सञ्जालयुक्त कार्य गर्न कानुनले प्रतिबन्ध गरेको भए पनि खुल्लमखुला पिरामिड शैलीको गैरकानुनी व्यवसायको सञ्जाल विस्तार भइरहेको छ ।






















