dinvari.com

बराहतालमा परम्परागत मान्यताका कारण कुपोषण अन्त्यमा चुनौती

सुर्खेत । बराहताल गाउँपालिकामा परम्परागत तथा हानिकारक सामाजिक मान्यताका कारण कुपोषण अन्त्य गर्न अझै चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् । बुधबार सुन्दर नेपाल संस्थाले सञ्चालन गरिरहेको पोषण परियोजना अन्तर्गत धार्मिक अगुवा तथा सामुदायिक नेताहरूसँग आयोजित सामाजिक मान्यता र अभ्यास सम्बन्धी छलफल कार्यक्रममा यस्तो तत्थ सार्वजनिक भएको हो ।

कार्यक्रममा धार्मिक अगुवा खड्कबहादुर कार्कीले केही परम्परागत मान्यता र अभ्यासहरू नै कुपोषण अन्त्यका लागि बाधक बनेको उल्लेख गरे । उनले बालबालिका तथा महिलाको पोषण सुधारका लागि यस्ता हानिकारक अभ्यास परिवर्तन आवश्यक रहेकोमा जोड दिए । यस्तै, बड्डिचौर टोल विकास संस्थाकी अध्यक्ष इमा पोख्रेलले महिनावारी र गर्भावस्थामा खान मिल्ने र नमिल्ने भन्दै गरिएको विभेदले आमा र बच्चा कुपोषणको जालोमा परेको बताइन

त्यसैगरी, बराहताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुनले बहुक्षेत्रीय पोषण कार्यक्रम र पालिकाका आफ्नै योजनामार्फत पोषण सुधारमा निरन्तर काम भइरहेको बताइन् । पालिकाले गर्भावस्थादेखि नै आमा र बच्चाको पोषण सुधार गर्न विभिन्न कार्यक्रम लागु गरेको उनले बताइन । उनले स्थानीय स्तरमा समन्वय र सचेतना अभिवृद्धि गर्दै कुपोषण न्यूनीकरणमा जोड दिइएको स्पष्ट पारिन् । स्वास्थ्य शाखाकी प्रमुख विष्णु गुरुङ्गले सरकारी तवरबाट कुपोषण अन्त्यका लागि धेरै प्रयास भइरहको भएपनि कतिपय हानिकारक मान्यताका कारण यसको चक्र तोड्न निकै चुनौती रहेको बताइन ।

उनले आमनागरिकले कुपोषणको चक्र तोड्न व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिइन । उनले किशोरीहरुमा रक्तअल्पतासमेत देखिएको बताइन । घरकै उत्पादनले नपुग्ने र जनचेतनाको कमीले भएको पनि प्रयोग गर्न नजान्नुले कुपोषणको चक्र तोड्न मुस्किल परेको उनको भनाई थियो । बजारमा पाइने तयारी खानालेसमेत कुपोषणलाई सघाउ पु¥याएको उनले बताइन । यस्तै, छलफलमा सहभागी बराहताल–५, कि सुजता कँडेलले पोषणयूक्त खाना स्वास्थ्यसँगमात्र नभई जीवनसँग जोडिएकाले पालिकाले नीतिगत व्यवस्था गरेर हरेक घरमा पोषण बगैचाको अवधारणा ल्याउनुपर्नेमा जोड दिइन ।

पोषण परियोजनाकी कार्यक्रम संयोजक मनु सापकोटाले सुर्खेत जिल्लाका पाँच वटा स्थानीय तहमा पोषण अवस्था सुधार गर्न परियोजना कार्यान्वयन भइरहेको जानकारी दिइन् । उनका अनुसार टोल सुधार समिति, आमा समूह, धार्मिक अगुवा तथा बाल क्लबमार्फत विभिन्न सचेतनामूलक र व्यवहार परिवर्तनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । उनले परियोजना लागु भएका पालिकामा आमा तथा बच्चाको कुपोषणको अवस्था मापन गरिएको उल्लेख गर्दै केही समयमा त्यो रिपोर्ट सार्वजनिक गर्न लागेको बताइन । कार्यक्रमका सहभागीहरूले कुपोषण अन्त्यका लागि सामाजिक सोच र व्यवहार परिवर्तन अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए ।

दिनभरी समाचार

दिनभरी चर्चित