सुर्खेत । गत २३ फागुनमा सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टाेपबहादुर खत्रीकाे शव १७ दिनपछि फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बाँके र सुर्खेत प्रहरी तथा बर्दिया राष्ट्रिय निकुञ्जकाे संयुक्त खाेजी टाेलीले मृतक खत्रीकाे शव फेला पारेकाे बताए । मृतककाे शव फेला परेकाे क्षेत्र बर्दिया जिल्लामा पर्छ ।
त्यस दिन जिल्लाको बराहताल गाउँपालिका– १ का पाँच र लेकबेँसी नगरपारिका– ८ का एक गरी ६ जना भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दूरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए । उक्त सिकारी समूहमा थिए, बराहताल गाउँपालिका– १ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली र ३३ वर्षीय टोपबहादुर खत्री ।
त्यस्तै, लेकबेँसी नगरपालिका– ८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै थिए । देश प्रतिनिधिसभा निर्वाचनमा होमिएको समयमा उनीहरू सिकारका लागि जंगल छिरेका थिए । स्थानीयका अनुसार उनीहरू यसअघि पनि मौका छोपेर सिकारका लागि निकुञ्जमा पसिरहन्थे । पूर्वयोजनामुताविक निकुञ्ज प्रवेश गरेका उनीहरू अकस्मात् २३ फागुनमै घर फर्किए । तर, घर फर्कनेमध्येमा थिएनन् ३३ वर्षीय टोपबहादुर खत्री । चोरी सिकारी गर्न नपाइने कडा कानुनको नजरअन्दाज गरेर निकुञ्ज पसेकाहरू घर फर्कंदा भने निकै हतास देखिन्थे । यसको कारण थियो, सँगै गएका टोपबहादुरको मृत्यु ।
बिहान सिकार गएकाहरू एक्कासि घर फर्के, तर टोपबहादुर फर्केनन् । घर फर्केकाहरूले उनी उतै जंगलमा मरेको सुनाए । तर, मृत्युको कारण भने खुलाएनन् । आफ्नो परिवारका सदस्यसँग केही नभन्नू भन्दै सोही दिन उनीहरू भारततर्फ भागे ।
यो घटना १० दिनपछि अर्थात् २ चैतमा मात्र सार्वजनिक भएको थियाे । पीडकहरूले परिवारका सदस्यलाई टोपबहादुरको मृत्यु भएको खबर कसैलाई नभन्नू भनेका थिए । तर, घटनाका बारेमा सिकार खेल्न सँगै गएका सुनील समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई घटनाका बारेमा सुनाएकी थिइन् ।
घटनाका बारेमा थाहा पाउनासाथ महतरा तत्काल प्रहरी चौकी रानीघाट पुगेपछि घटनाको रहस्य बाहिर आएको थियाे ।






















