सुर्खेत । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका कक्षाहरु लिने विद्यार्थीहरुका लागि निःशुल्क उपलब्ध गराउने भएको छ।
पुस १ गते अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र निराजन थापाको अध्यक्षतामा सम्पन्न तेस्रो पदाधिकारी बैठकले आयोगका कक्षाहरु निःशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो।
युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय बैठकले गरेको इन्चार्ज तिमिल्सिनाले बताए।
उनकाअनुसार विभिन्न पेसा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्नका लागि अनेरास्ववियु काठमाडौँले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
यस्तै, इन्चार्ज तिमिल्सिनाले देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूले यहीँ पुस १५ गतेभित्र आफ्नो विवरणसहित उपलब्ध गुगल फाराम (https://forms.gle/aZHPtyMntCzhFKeq5 ) भरेर आवेदन पेस गर्न सकिने बताए।
साथै उनले कक्षा सञ्चालनका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा आफुले नै लिएर विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरूलाई तथा पेसा व्यवसायको कारण अध्ययनमा कम समय दिने तमाम युवाहरुको लागी यस्ता खालका अवसर दिँदै देशमा छरिरहेको चरम निराशालाई चिर्न सहयोग पुग्ने दाबी गरे।























