सुर्खेत । सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसब्बा गुरुङले हुलाक सेवालाई समयअनुसार बदलिनेगरी ऐन ल्याउन लागिएको बताएका छन् । सोमबार हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागेको बताएका हुन् । अहिले प्रविधिले फड्को मारिरहेको बेला पुरानै अवस्थामा हुलाक सेवा रहन नसक्ने भन्दै सरकारले नीती परिवर्तन गरेर सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने बताए। हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ । मन्त्री गुरुङले भने, अब यसको सेवालाई थप प्रभावकारी बनाउनको लागि नीति नै परिवर्तन हुन्छ, यसको लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि संघियताको मर्मअनुसार आधुनिक रुपमा हुलाक सेवा संचालन हुन्छ,।
देश संघिय गणतन्त्रमा गइसकेको भन्दै २०१९ सालको ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने उनले उल्लेख गरे । कानुन छ राजा महेन्द्रको पालाको अनि हामी परिवर्तनको अपेक्षा गरेका छौँ, यतिका बर्षसम्म कति सरकार परिवर्तन भए, कानुन बनाउनुपर्छ भन्ने हेक्का किन नराखेको रु उनले प्रश्न गरे । हुलाक सेवालाई प्रभावकारी बनाउनको लागि योजना आयोगले समेत नबुझेको भन्दै योजना निर्माण गर्दा हुलाक क्षेत्रको समस्या बुझ्न उहाले आयोगलाई सुझाव दिए ।
उनले कर्णाली प्रदेशमा सुचना र सञ्चारको पहुँचलाई गुणस्तरिय बनाउनेगरी सरकारले काम गरिरहेको बताए । अहिले भ्रामक सुचनाले समाज भाडिरहेको भन्दै उनले सरकारले यसका नियमन गर्नेगरी ल्याएको सञ्चार सम्बन्धीको विद्येयक छिट्टै कानुनको रुपमा आउने जानकारी गराए । उनले विकासका काम अध्ययन नगरि गर्ने गरिएको भन्दै देशको खर्बौ रकम खेर गइरहेको बताए । बसाइसराई शहर केन्द्रीत हुँदैछ, प्रविधिको विकास तिव्र रुपमा अगाडी बढीरहेको छ, तर सनकको भरमा अध्यन नगरि विकासका कामहरु गर्ने प्रवित्तिले राज्यको खरबौ रकम नोक्सान भएको छ । विकास आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने हो, तर त्यसो भएको छैन, यसलाई बदल्नुपर्छ, ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई प्रभावकारी बनाउनको लागि माग गरिएका सबै विषयलाई सम्बोधन गर्न प्रयास गरिने बताए । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्याय लगायतले नवनिर्मित भवनसँगै सेवालाई प्रविधिमैत्री बनाउन सुझाव दिएका थिए । कार्यक्रममा हुलाक सेवालाई प्रभावकारी बनाउन योगदान गरेको भन्दै विभिन्न नीकाय तथा व्यक्तीहरुलाई सम्मानित समेत गरिएको थियो ।
यस्तै, सोमबार नै नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवद्र्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । विविध भाषा र संस्कृतिको प्रसारणले राष्ट्रिय एकता र सहिष्णुता मजबुत हुने विश्वास व्यक्त गर्दै उहाले आगामी बजेटमा कर्णाली प्रदेशलाई समपूरक र विशेष अनुदान वृद्धि गरिने प्रतिवद्धता जनाए ।
यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खस भाषामा समाचार प्रसारणका लागि प्रदेश सरकारले छ महिनाअघि नै नीतिगत निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाएको स्मरण गरे । मुख्यमन्त्री कँडेलले भाषिक विविधता उजागर गर्न सुरु गरिएको सेवा प्रतिको पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता जनाए ।






















