सुर्खेत । वीरेन्द्रनगरमा भाेली (बिहिबार) बृहत सांगितिक कार्यक्रम हुने भएकाे छ । दिउँसो १ बजे सुर्खेतकाे वीरेन्द्रनगरस्थित सिटिहलमा उक्त्र सांगितिक कार्यक्रम आयाेजना गर्न लागिएकाे हाे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा बृहत सांगितिक कार्यक्रम गर्न लागिएको दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष कविराज गिरीले बताए ।

बुधबार बिहान भएको पत्रकार सम्मेलन मार्फत उनले कार्यक्रमबारे जानकारी दिएका हुन् । युवालयका सहयात्रा परियोजना संयोजक पुजा कार्कीका अनुसार परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा संगितहरूसबै सामु प्रस्तुत गर्न लागिएको हो । लोक संस्कृति जगेना गर्ने भनि चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, स्याउरे, कौडा नृत्य प्रदर्शन गर्ने र संगितको कक्षामा सिकेका पञ्चेबाजा, झ्याली, कनाल, सहनाई, दमाहा) पनि बजाएर सबै साम् प्रस्तु्त गर्ने तालिका रहेको उनले बताइन् ।
‘यस कार्यक्रमबाट युवाहरूले सिकेका कलाहरू आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल बुद्धि गर्न सकुन भन्ने हो । साथै, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न युवाका भुमिकालाई महत्वपूर्ण स्थान दिनका खातिर समेत यस कार्यक्रम आयोजना गरिएको हो’ कार्कीले भनिन्, ‘आगामी दिनमा उनीहरूले सिकेका कलालाई प्रदर्शन गर्दै आयआर्जनमा जोडिन टेवा पुगोस् भन्ने अपेक्षाका साथ यस कार्यक्रम गर्न लागिएको यहाँहरूलाई जानकारी गराउन चाहान्छौ ।’ यस कार्यक्रमलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा राखिएको परियोजना संयोजक कार्कीले बताइन् । उनका अनुसार किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि कार्यरत पूर्व बालक्लब सदस्यहरूद्वारा गठन गरिएको सस्था युवालयले राष्ट्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।






















