dinvari.com

मनसुनी विपद्को प्रतिकार्यमा वीरेन्द्रनगर : बाढीको पूर्वसूचना प्रणाली जडानदेखि पीडितलाई एक साताभित्र राहत

यस वर्षको मनसुन सुरुभसँगै वीरेन्द्रनगरले विशेष गरी बाढी–डुबान र नदी कटानको उच्च जोखिममा रहेका तल्लो तटिय क्षेत्रमा पूर्वसूचना प्रणाली, वर्षा मापन केन्द्र स्थापना, उद्धार सामग्रीसँगै यसमा खटिने जनशक्ति तयारी अवस्थामा राखेको छ । नगरपालिकाले आपतकालिन कार्य सञ्चालन केन्द्रमार्फत विपद् व्यवस्थापन, पूर्वतयारी तथा प्रतिकार्यलाई तयारी अवस्थामा राखेको हो ।

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मनसुन भित्रिएसँगै मनसुनजन्य प्राकृतिक विपद्पूर्वको तयारी तथा विपद्पछिको प्रतिकार्य थालेको छ । वीरेन्द्रनगर प्राकृतिकजन्य बहुप्रकोपको उच्च जोखिम रहेका उपत्यका हो । यस वर्षको मनसुन सुरुभसँगै वीरेन्द्रनगरले विशेष गरी बाढी–डुबान र नदी कटानको उच्च जोखिममा रहेका तल्लो तटिय क्षेत्रमा पूर्वसूचना प्रणाली, वर्षा मापन केन्द्र स्थापना, उद्धार सामग्रीसँगै यसमा खटिने जनशक्ति तयारी अवस्थामा राखेको छ । नगरपालिकाले आपतकालिन कार्य सञ्चालन केन्द्रमार्फत विपद् व्यवस्थापन, पूर्वतयारी तथा प्रतिकार्यलाई तयारी अवस्थामा राखेको हो ।

गुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु, खोला–नालाको बढ्दो अतिक्रमणका कारण वीरेन्द्रनगरमा मनसुनजन्य विपद्को जोखिम उच्च बन्दै गएको छ । अव्यवस्थित ढल तथा अतिक्रमणले खुम्चिएका वीरेन्द्रनगरका खोलानालामा उत्तरी क्षेत्रबाट आएको पानीलाई सहज निकास दिनसक्ने अवस्था छैन ।जसका कारण माथिल्लो (मुख्य बजार) क्षेत्रमा पानी खोलामा नभई सडक तथा वस्तीमा पस्ने समस्या बल्झदै गएको छ । अर्कोतर्फ पानीको निकास साँघुरो हुँदा उपत्यका क्षेत्रमा सामान्य वर्षामा समेत दक्षिणी भू–भाग डुबानमा पर्ने गरेको छ ।

वीरेन्द्रनगरका मुख्य इत्राम, नेवारे, खोर्केखोला अतिक्रमणका कारण साँघुरिन गई बस्तीमा बाढी पस्नेत तथा तल्लो क्षेत्रमा डुबानको जोखिम बढ्दै गएको अवस्था छ । यही जोखिमसँग लड्न नगरपालिकाले यसअघि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारी लागु गरिसकेको छ । आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरीले विपद्सम्बन्धी ऐन, कार्यविधि, कार्ययोजनाका आधारमा पूर्वतयारीका सम्पूर्ण कार्यहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।

‘केन्द्रले आफ्नो सञ्चार संयन्त्रका माध्यमबाट नगरस्तरीय विपद् व्यवस्थापन समिति, वडास्तरीय व्यवस्थापन समिति, टोल विकास संस्थाहरु, विपद् उद्धार कार्यदल, गैरसरकारी संस्थाहरुलाई तयारी अवस्थामा राखेका छौं, गिरीले भने, ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका आधारमा जोखिम संवेदनशिल क्षेत्रमा न्यूनीकरणका कामहरु सम्पन्न गरिएको छ ।’

बाढीको पूर्वसूचना दिन साइरन जडान

विपद् व्यवस्थापन ऐन र कार्ययोजनाका आधारमा जोखिम संवेदनशिल भू–उपयोग योजना, भू–उपयोग नीति, जग्गा एकिकरण, भूकम्पीय जोखिम आँकलन, भौतिक पूर्वाधार तथा भवन मापदण्ड लगायतका नीतिहरु लागू गरिएको उनले बताए । विपद् जोखिमका दृष्टिले वीरेन्द्रनगरका वडा नं २ र ९ बाढी र डुबानको उच्च जोखिमा छन् । यी वडामा वीरेन्द्रनगरको सम्पूर्ण पानी बाहिरिने निकास खोला अवस्थित छ । यस्तै, वडा नं १४, १५ र १६ पहिरो, वडा नं ३ भूकम्प, वडा नं १६ चट्याङबाट वर्षेनि प्रभावित हुँदै आएका छन् । आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार वीरेन्द्रनगरका इत्रामखोला, आँपखोली, तल्लो पर्सेनीमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । आँपडालीमा बायो इन्जिनियरिङ विधिबाट गरिएको तटबन्ध प्रभावकारी बनेको नगरपालिकाको दावी छ ।

२०७१ सालमा उक्त खोलाको कटानबाट ९ घर विस्थापित भएका थिए । हाल उक्त क्षेत्रमा तटबन्ध गरिएको हो । इत्राम खोलामा पनि तटबन्ध बनेपछि दुई सय बढी घरधुरी लाभान्वित भएको बताइएको छ । वीरेन्द्रनगर ९ तल्लो पर्सेनीमा बाढी–डुबानको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । नगरपालिकाले त्यस क्षेत्रका ६३ घरधुरीलाई लक्षित गरी रिमोटबाट चल्ने साइरन जडान गरेको छ । नगरपालिकाको कार्यालयमा पनि ध्वनी सुनिने उक्त साइरनले निकास खोलामा पानीले खतराको विन्दु पार गर्ने बित्तिकै बाढीको सूचना दिन्छ ।

यसले कार्यालयबाट उद्वार सामग्री सहित परिचालन हुने मद्दत पुग्ने बताइएको छ । यस्तै, नगरपालिकाको सुचना प्रवाह तथा विपद्व्यवस्थापन संयन्त्र अनुसार संचार प्रभाकारी रुपमा कार्यन्वयन गर्नको भिएच एफ सेट, मोवाईल सेट र आपत्कालिन नम्बर १०१ समेत प्रयोगमा ल्याईएको छ । समावेशी टोल विकास संस्थाकी अध्यक्ष गीता खानले साइरन जडानबाट गाउँलेहरु सुरक्षित महसुस गरेको बताइन् । उनले भनिन्, ‘चारैतिर नालाले घेरेको बस्ती भएकाले सामान्य वर्षा हुँदासमेत डुबानको खतरा छ, साइरन जडानका साथै र सेफ्टी जाकेटहरु वितरण गरिएकाले सुरक्षित महसुस गरेका छौं ।’ स्थानीयका अनुसार २०७१ को बाढीबाट यो टोलका तीन जनाले ज्यान गुमाएका थिए ।

उपकरणसँगै तयारी अवस्थामा उद्दार टोली

नगरपालिकाले पूर्वसूचना प्रणाली व्यवस्थापनका साथै उद्धार उपकरण एवं जनशक्तिलाई पनि तयारी अवस्थामा राखेको छ । आपतकालिन कार्यसञ्चालन केन्द्रमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि रबरबोट २, दमकल २, डोजर २, लाइफ ज्याकेट ८० थान, रबर ट्युब २० थान, एम्बुलेन्स १, स्टुङइसर ५, फायर बल १० थान, फायर सेफ्टी इक्युपमेन्ट ४ थान तयारी अवस्थामा राखिएको छ । नगरपालिकाले स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका अन्तर्गत तालिमप्राप्त अग्नि नियन्त्रक १४ जना, दु्रत लेखाजोखा ४१, खोज तथा उद्धारकर्ता २४, वासटोली १७ जनालाई परिचालन गर्ने तयारी गरिएको छ । यस्तै, नगरपालिकाले ६५ लाख रुपैयाँको विपद् व्यवस्थापन कोषसमेत बनाएको छ ।

यसैबीच, नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै विपद्का लागि तत्काल राहतको प्रबन्ध गर्ने जनाएको छ । मंगलबार आगामी आव २०८२÷८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मोहनमाया ढकालले विपद् पूर्वसूचना प्रणाली व्यवस्थापनलाई जोड दिँदै विपद्सम्बन्धी घटना घटेमा विवरण प्राप्त भएको सात दिन भित्र राहत उपलब्ध गराउने बताइन् । सुर्खेत उपत्यकामा अवस्थित यो नगरपालिका कर्णाली प्रदेशको राजधानीसमेत रहेकाले तीब्र शहरीकरण भइरहेको नगर पनि हो । यस नगरमा २२.९२ प्रतिशत घरहरु कच्ची १७.१८ र प्रतिशत घरहरु अर्घपक्की छन् भने बस्ती विस्तारमा भूउपयोग नीतिलाई ख्याल गरिएको छैन । त्यसमाथि जलवायु परिवर्तनको असर, गरिबी, जनचेतनाको स्तर, सामाजिक बहिस्करण, बृद्धबृद्धा, बालबालिका तथा अपाङ्गता भएका जनसंख्या जस्ता संवेदनशीलताले यस नगरमा विपद्को जोखिम बढाईरहेको नगर प्रमुख ढकालले बताइन । उनले विशेषगरी मनसुनको समयमा नगरवासीलाई बाढी, पहिरो, नदी कटान, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सजगता अपनाउन अनुरोध गरिन ।

यस्तो छ वीरेन्द्रनगरमा बहुप्रकोप जोखिम

भुकम्प, बाढी, पहिरो, आगलागी लगाएतका अन्य प्रकोपजन्य विपद्का कारण वीरेन्द्रनगरका १६ वटै वडामा १० प्रतिसत जनसंख्यामा विपद्को प्रभाव पर्न सक्ने बहुप्रकोपिय नक्सांकनका आधारमा तयार गरीएको वडागत बहुप्रकोप नक्सांकनको अनुमान छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ३८ हजार तीन सय ७७ घरधुरी भएको यस नगरपालिकाको कुल दुई हजार तीन सय ९५ घरधुरीका कम्तिमा ११ हजार नौ सय ७५ जना प्रत्यक्ष एव आंसिक रुपमा बहुप्रकोपजन्य विपद्बाट प्रभावित हुने अनुमान छ । बाढी, डुवान, पहिरो लगायतका प्रकोप तथा अव्यवस्थित ढलका कारण पानी अवरुद्ध भई नगरक्षेत्रमा बसोबास गर्ने सात सय ४० बृद्ध बृद्धा, सात ८० गर्भवती, ८२ जना अपाङ्गता भएका व्यक्तिहरु पुर्ण एवं आंसिक रुपमा प्रभावित हुन सक्ने अनुमान वीरेन्द्रनगरको बहुप्रकोपिय नक्सांकनमा गरिएको छ ।

अन्तिम अद्यावधिक मिति: २०८२ असार २९, आईतवार १०:३४

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री