dinvari.com

मुगु ६५औँ साक्षर जिल्ला

मुगु । विकट हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ। आज एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो।

जिल्लाका चार स्थानीय तहहरूले साक्षर पालिका घोषणा गरेपछि मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो। जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

जिल्ला समन्वय समिति प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाले सामूहिक रूपमा घोषणापत्रमा हस्ताक्षर गरेका थिए।

‘हिजोका दिनमा गाउँघरमा परदेशबाट आफन्तहरूले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो। अब त्यो अवस्था छैन, आज सबै पढ्न सक्ने भएका छन्,’ नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष विष्णुमाया भामले भने।

कार्यक्रमका केही वक्ताले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय तहहरूले साक्षरताको १२ सूचकमध्ये ६ सूचक मात्र पूरा गरेको र बाँकी ६ वटा सूचक पनि पूरा गर्न सुझाव दिएका गिए।

मुगु साक्षर घोषणा भएसँगै सरकारी लगतमा देशका ६५ जिल्ला साक्षर वर्गमा परेका छन्। अझै १२ जिल्ला साक्षर घोषणा हुन बाँकी छन्।

अन्तिम अद्यावधिक मिति: २०८१ आश्विन ८, मंगलवार ०५:२८

दिनभरी समाचार

दिनभरी चर्चित