dinvari.com

पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सम्झौता

सुर्खेत । नेपालका पाँच विश्वविद्यालयहरूबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ। विश्वविद्यालयहरुले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो।

उक्त सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।

समझौता अनुसार विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन्।

साथै, संयुक्तरूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन्।

सम्झौता पत्रमा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिहरु हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको उक्त सम्झौताको साक्षीमा पाँचै विश्वविद्यालयका रजिष्ट्रारहरु उपस्थित थियो।

सुरुवाती सम्झौता अवधी पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ। यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ।

यस सम्झौताले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धनका साथै विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले जानकारी दिए।

दिनभरी समाचार

दिनभरी चर्चित