dinvari.com

मध्यपश्चिम विश्वविद्यालय र दक्षिण एसियाका १३ विश्वविद्यालयबीच साझेदारी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र चीनसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले साझेदारी गर्ने घोषणा गरेका छन्। उक्त साझेदारीमा शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा एकआपसमा सहयोग पुर्‍याउने उल्लेख छ।

मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित हुबेई (चीन) र दक्षिण एशियाका विश्वविद्यालय अध्यक्षहरूको फोरममा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षरसमेत गरेको छ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा ध्रुवकुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यका साथ सहयोगी पहलहरूबारे छलफल गर्न दक्षिण एशिया र चीनका तेह्र संस्थाहरूका अध्यक्ष एवं प्रतिनिधि बीच उक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन्।

फोरम एवं घोषणा पत्रको मुख्य उदेश्य शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिनु रहेको छ। घोषणाले साझेदारीलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्नेलगायतका क्षेत्रहरूलाई रेखांकित गरेको छ।

यसले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्वलाई समेत समावेश गरेको छ।

सहभागी विश्वविद्यालयहरूबीच उच्चस्तरीय अनुसन्धानलाई बढावा दिदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिवद्धतासमेत व्यक्त गरेको छ।

उपकुलपति प्रा।डा। गौतमलगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूले घोषणापत्रमा हस्ताक्षर गरेका थिए।

यो हस्ताक्षरले दक्षिण एसिया र चीनबीच बलियो शैक्षिक र सांस्कृतिक सम्बन्ध निर्माण गर्ने तथा प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई समर क्याम्प, संयुक्त अनुसन्धान लगायतका विभिन्न गतिविधिहरूमा भाग लिई समग्र शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

अन्तिम अद्यावधिक मिति: २०८१ कार्तिक ७, बुधबार ०९:५७

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री