सुर्खेत । नेपाल घरेलु तथा सना उद्योग महासंघ सुर्खेत जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशन आज (बिहिबार) हुँदैछ । आगामी कात्तिक १४ र १५ गते केन्द्रीय अधिवेशन आयोजना हुने भएपछि महासंघले जिल्ला अधिवेश गर्न लागेको हो । बुधबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष सुमननाथ योगीले जिल्ला समन्वय समितिको सभाहलमा अधिवेशन आयोजना हुने बताए । अधिवेशनबाट महासंघको नयाँ नेतृत्व चयन हुनेछ । महासंघ केन्द्रको पत्रानुसार सुर्खेत जिल्ला अधिवेशन आयोजना हुन लागेको अध्यक्ष योगीले बताए ।
पत्रकार सम्मेलनमा महासंघको प्रदेश कार्यसमितिको नाममा रुकुम पश्चिममा गरिएको प्रदेश अधिवेशनलाई अबैध घोषणा गर्दै खारेज गरिएको अध्यक्ष योगीले बताए । उनले केन्द्रीय कार्यसमितिको १९ साउन २०८२ को पत्रमार्फत सुर्खेत र दैलेखमा उपाध्यक्ष वीर बहादुर नेपाली र मुगु, डोल्पा, हुम्ला र जुम्लामा उपाध्यक्ष सुरबहादुर बुढालाई जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिएसँगै रुकुम पश्चिममा गरिएको अधिवेशन खारेज भएको दावी गरे ।
उनले महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर विसी नेतृत्वको कार्यसमितिले २०७५ माघमा सम्पन्न दोस्रो राष्ट्रिय औद्योगिक, व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सवको आय–व्यय अहिलेसम्म सार्वजनिक नगरेको दावी गरे । उनकाअनुसार उक्त महोत्सवको हरहिसाव माग्दा प्रदेश अध्यक्ष चन्द्रबहादुर विसी, प्रदेश महिला उद्यमी समितिका अध्यक्ष गोमा वली र नगर अध्यक्ष शक्तिबहादुर थापा कार्यालयमा ताला लगाएर सम्पर्कविहिन हुने गरेका छन् ।
अध्यक्ष योगीले प्रदेश समितिले विधान विपरीत जिल्लालाई खारेज गरिएको हल्ला फैलाए पनि केन्द्रकै पत्रले त्यसलाई अस्विकार गरिसकेको स्पष्ट पारे । उनले जिल्ला कार्यसमितिको कार्यालयका फर्निचर र कागजात गैर सदस्यलाई समेत संलग्न गराई प्रदेश अध्यक्ष विसी, प्रदेश महिला उद्यमी समितिका वली र नगर अध्यक्ष थापाले बलपूर्वक लिएको आरोपसमेत लगाए ।























