dinvari.com

गुर्भाकोटमा शिक्षा नीति संवाद : गुणस्तरीय शिक्षाको नयाँ परिभाषा खोज्नुपर्ने माग

सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिकामा नगरस्तरीय शिक्षा नीति संवाद सम्पन्न भएको छ। आइतबार ‘शिक्षा नीतिमा स्पष्टता कार्यान्वयनमा सरोकारवालाहरुको जवाफदेहियता’ भन्ने नाराका साथ शिक्षा नीति संवाद सम्पन्न भएको हो।

कारखाना समूहअन्तर्गत रहेको जवाफदेही शिक्षाका लागि नागरिक समाज सशक्तिकरिण (सिएसई) परियोजनामार्फत शिक्षा नीति संवादको आयोजना गरिएको हो।
नगरप्रमुख हस्तबहादुर पुन, नगर शिक्षा समितिबाट बासुदेव शर्मा र नगरको शिक्षा शाखाबाट गीता वली वक्ताहरु रहेको उक्त संवादमा सहजीकरण कर्णाली सिकाई समूहका प्रतिनिधि गोकर्णप्रसाद उपाध्यायले गरेका थिए।

साथै कार्यक्रमको उदेश्यबारे कारखाना समूहका ललितजंग शाहीले प्रकाश पारेका थिए।

शिक्षा नीति संवादमा वक्ताहरुलाई सहजकर्ता उपाध्यायले पालिकाको शिक्षा क्षेत्रमा विनियोजन हुने बजेट योजना, नीतिगत कार्यान्वयन, प्रतिफल, विपन्न वर्गका बालबालिकाका लागि शिक्षामा सहयाता, गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिमको व्यवस्था, समावेशी शिक्षामा पालिकाकले गरेका प्रयासहरु, समावेशी तथा गुणस्तरीय शिक्षाको प्रभावकारीतामा सरोकारवाहरु, विद्यालय, प्रशासन र अभिभावकहरुको शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नका लागि पालिकाले थालेका दीर्घकालिन योजनाहरु र लैगिंक, अपांगता, सिमान्तकृत समूदायका बालबालिकाहरुको शिक्षामा पहुँच लगायतका विषयमा प्रश्नहरु राखेका थिए।

उक्त प्रश्नहरुको जवाफदिँदै वक्ताहरुले विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुको खोजी तथा बजेट कार्यान्वयनको अवस्थाको बारेमा अध्ययन अनुसन्धानमा चुनौती भएको उल्लेख गरे।

वक्ताका रुपमा रहेका नगरप्रमुख हस्तबहादुर पुनले १ देखि ५ कक्षाका छात्रा र दलित समूदायका बालबालिकाहरुलाई छात्रवृद्धिको व्यवस्था, शिक्षकहरुलाई आवश्यक तालिम, १८ जना अनाथ तथा जोखिमयुक्त बालबालिकालाई ‘हामी अभिभावक कार्यक्रम’मार्फत निशुल्क आवाससहित माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आइरहेको बताए।

यस्तै, शिक्षा नीति संवादमा सहभागीहरुले शैक्षिक गुणस्तरको नयाँ परिभाषा खोज्नुपर्ने, सरकारी सेवामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीका बालबालिकाहरु सरकारी विद्यालयमा भर्ना गर्ने नीति ल्याउनुपर्ने, विद्यार्थी संख्याको आधारमा विद्यालय समायोजनको अवधारण ल्याउनुपर्ने, स्वयंसेवक शिक्षकको नीति बनाउनुपर्ने, पालिकाले शिक्षा नीति बनाउँदा अभिभावक तथा शिक्षा अभियान्ताहरुलाई समावेश गर्नुपर्ने, विद्यालयमा स्वास्थ्य परिक्षण, स्वास्थ्य शिक्षा र अभिभावक शिक्षा लागु गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

यस्तै, वक्ताहरुले संवादमा उठेका सुझावहरुलाई आर्थिक वर्ष २०८२।०८३ को बार्षिक बजेट कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए। साथै उनिहरुले वर्षमा एक पटक अभिभावक भेलाको आयोजना गर्ने सामाजिक लेखा परीक्षण गर्ने, विद्यालय सुधार योजना तथा सार्वजनिक सुनुवाई लगायतका विषयमा पालिकाले योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाए।

यस्तै, शिक्षा नीति संवादका वक्ता तथा शिक्षा शाखा प्रतिनिधि गीता वलीले पालिकामा सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरि जम्मा ८५ विद्यालयहरु रहेका बताइन्। उनका अनुसार सामुदायिक विद्यायलहरुमा १० माध्यमिक र ६२ आधारभूत विद्यालय छन् भने १३ संस्थागत विद्यालयहरु रहेका र पालिकाभरको कुल साक्षरता दर ८२.८३ प्रतिशत छ।

अन्तिम अद्यावधिक मिति: २०८२ जेष्ठ १३, सोमबार ०८:१६

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री