सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले युवालाई रोजागारीमा जोड्न सूचना प्रविधिमा आधारित आइटी पार्कको अवधारणा अघि सारेको छ । वीरेन्द्रनगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मोहनमाया ढकालले युवालाई सूचना प्रविधिमार्फत रोजगारीमा जोड्न आइटी पार्कको अवधारणा अघि सारेकी हुन् । ढकालले आगामी आर्थिक वर्षमा सुर्खेतको प्रमुख पर्यटकीय स्थल घण्टाघर पार्कको दक्षिणतिरको क्षेत्रलाई आइटी पार्क निर्माण गरी खुला अध्ययन क्षेत्र तथा रोजगारीको केन्द्र बनाउने योजनाको घोषणा गरेकी हुन् ।
जहाँ युवाहरूलाई सूचना प्रविधिको क्षेत्रमा काम गर्न खुला स्थान प्रदान गरिने छ । यसका लागि नगरपालिकालाई आधुनिक स्मार्ट समावेशी र दक्ष सेवा प्रदायक संस्थाका रूपमा विकास गर्दै आइटी हबमा स्थापित गर्न योजना बनाई कार्यान्वयन गरिने उनले बताइन् । वीरेन्द्रनगरलाई आइटीको हबका रूपमा विकास गरी सूचना प्रविधि पार्क, आइटी युवा उद्यमशीलता प्रोत्साहन, स्थानीयस्तरमा आइटी तालिम र सीप विकास कार्यक्रममार्फत युवा रोजगारी सिर्जना गर्ने नीतिमा आफू रहेको उनले बताइन् ।
ढकालका अनुसार ‘विदेसिने युवा घटाउँ स्वदेशमै रोजगारी बढाउँ’ भन्ने नाराका साथ वैदेशिक रोजगारबाट फर्किएर कृषि व्यवसाय गरिरहेका वा गर्न चाहने युवाका लागि पुँजी तथा प्रविधिमा अनुदान उपलब्ध गराइने छ । यस्तै, ‘डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर’ भन्ने नीतिअन्तर्गत उद्यमशीलता र सूचना प्रविधिलाई एकसाथ जोडिने कार्यक्रम सञ्चालन गर्ने नीति नगरपालिकाले लिनेछ । ‘युवा जागौँ, उद्यम बढाऔँ’ नीतिअन्तर्गत युवामैत्री उद्यमशीलता कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने नगर प्रमुख ढकालले बताइन् ।
उनको भनाइमा एकीकृत सेवा प्रणालीको स्थापना गरी नागरिक सेवालाई एकद्वार सेवा एकै स्थान सेवाको नीतिमार्फत नगरबासीलाई अझ छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरिने छ । नगरपालिकालाई डिजिटल नगरपालिकाका रूपमा रूपान्तरण गरी सम्पूर्ण प्रशासनिक प्रक्रियालाई डिजिटल बनाई फाइल ट्र्याकिङ सिस्टम, ई-दस्तावेज हस्ताक्षर प्रणालीको विकासमार्फत आन्तरिक तथा बाह्य पत्राचारमा डिजिटलमैत्री प्रयोगलाई थप व्यवस्थित गर्ने नीति नगरपालिकाले लिनेछ ।
यस्तै, डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तार गरी कर, सेवा शुल्कलगायत सबै भुक्तानी प्रणालीलाई ई-भुक्तानी जस्तैः मोबाइल बैंकिङ, क्युआर कोडजस्ता प्रणालीको आत्मसाथ गरिने छ । ई-सेवा प्रणालीको विकास गरी नागरिकलाई विभिन्न सेवा जन्म/मृत्यु दर्ता तथा प्रमाणपत्र, घरजग्गासम्बन्धी प्रमाणपत्र, सिफारिस/अनुमति पत्रहरू कर विवरण तथा भुक्तानी प्रणाली अनलाइनबाट उपलब्ध गराइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
आगामी वर्षको बजेट कार्यान्वयनबाट विगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नगर क्षेत्रमा अतिआवश्यक पूर्वाधार निर्माण, सामाजिक न्याय, आधारभूत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँचलगायत शहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको दिगो एवम् सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ । वीरेन्द्रनगरको आगामी बजेटले पूर्वाधारको विकास तथा विस्तारबाट सेवा, सुविधा तथा बजारमा पहुँच र उपयोग वृद्धि, शहरी सौन्दर्यताका साथ जीवनयापन सुरक्षित र वातावरणमैत्री ढङ्गबाट सहजता ल्याउने उद्देश्य राखेको छ । यस्तै, स्वच्छ खानेपानी तथा सरसफाइमा नगरबासीको सहज पहुँचमा वृद्धि गर्दै नगरमा भएको खानेपानी समस्यालाई दिगो व्यवस्थापनलाई संस्थागत गर्ने लक्ष्य राखिएको प्रमुख ढकालले बताइन् ।
उनले कृषि तथा पशुपालन पेसा व्यावसायिक रोजगारमुलकतर्फ उन्मुख गराउनुका साथै महिलाहरूको संलग्नतामा विभिन्न उत्पादनमा नगरलाई आत्मनिर्भर उन्मुख बनाउने कामको थालनी हुने बताइन् । उनका अनुसार आगामी आर्थिक वर्षबाट महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित उद्यम तथा व्यवसायको व्यवसाय शुल्कमा २० प्रतिशत छुटको नीति लिइनेछ । नगरपालिकालाई तिर्नुपर्ने कर दस्तुर तिरेका र व्यवसाय दर्ता गरेका व्यवसायबाट मात्र वस्तु र सेवाको खरिद गरिने उनले बताइन् । नगरपालिकाभित्र कुनै पनि सरकारी संरचना निर्माण गर्दा अनिवार्य अपाङ्गतामैत्री संरचना निर्माण गर्नुपर्ने, निजीक्षेत्र वा वैयक्तिक प्रयोजनका लागि बनाएमा २५ प्रतिशत कर छुट दिइने उनले बताइन् ।
पूर्वाधार र सामाजिक विकासमा जोड
उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग प्रविधिमार्फत आयोजना अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्न ११ करोड ६० लाख म्याचिङ फन्डको व्यवस्था बजेटमा गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाको मर्मत सम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधार गर्न वडास्तरीय कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षबाट सुरु भएका राजधानीकेन्द्रित शहरी सौन्दर्यताका पूर्वाधार घण्टाघर पार्कलगायत अन्य पार्क एवं खुला क्षेत्र सजावट तथा पार्किङ स्थल निर्माण तथा विभिन्न वडामा सञ्चालित नगर महत्त्वका आयोजनालाई क्रमागत आयोजनातर्फ २२ करोड ३४ लाख बजेट विनियोजन भएको छ ।
यस्तै, शहरी पूर्वाधारको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा कम्तीमा एक वडामा ५० लाखभन्दा ठूला नगर गौरवका पूर्वाधार आयोजना कार्यान्वयन हुनेछन् । नगरपालिकाले आगामी वर्षबाट नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउन नगर बस खरिद गरी सञ्चालन गर्न दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, राजधानीकेन्द्रित ट्राफिक लाइट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाइमार्स लाइट, आइटी जोनलगायतका शहरी पूर्वाधार निर्माण गर्न १२ करोड बजेट व्यवस्थापन भएको छ । नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्बोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्थापन भएको उपप्रमुख नीलकण्ठ खनालले बताए ।
आगामी बजेटमा नगरपालिकालाई शैक्षिक हबको गन्तव्यका रूपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षामा सबै बालबालिकाको समतामुलक पहुँच सुनिश्चित गर्न ससर्तबाहेक पाँच करोड ५९ लाख ६६ हजार विनियोजन भएको छ । नगरपालिकाका युवाहरूको क्षमता विकास गर्न तथा युवाहरूलाई नगर समृद्धिको अभियानमा परिचालन गर्न युवा सशक्तिकरण कार्यक्रम सञ्चालनतर्फ ६० लाख विनियोजन भएको छ । यस्तै, समग्र खेलकुद क्षेत्रको प्रवर्द्धनसहित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल ६१ लाख २५ हजार विनियोजन भएको छ ।
आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि र सुलभता ल्याउन स्वास्थ्य संस्था र स्वयंसेविकालगायत जनशक्तिको क्षमता विकास तथा गुणस्तरीय सेवा प्रवाहमा ससर्तबाहेक एक करोड ५९ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताललाई व्यवस्थित सञ्चालन गर्न ३७ लाख ५० हजार बजेट विनियोजन भएको छ । हिंसापीडित महिलाका लागि आश्रय दिन तथा उनीहरूको मनोबल उच्च बनाउन सेफहाउस सञ्चालन तथा व्यवस्थापनतर्फ २० लाख बजेट व्यवस्थापन गरिएको छ । यस्तै, विकास प्रक्रियामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा वृद्धि गरी अर्थपूर्ण सहभागिता गराउन, युवाहरूमा अनुशासन, सक्षमता, भविष्यप्रति संवेदनशीलताको विकासका लागि ७५ लाख बजेट व्यवस्थापन भएको छ ।
कृषि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य
कृषि व्यवसायमा महिलाहरूको सहभागितामा वृद्धि गर्दै व्यावसायिक कृषि तथा पशुपालनमार्फत रोजगारतर्फ उन्मुख गराउने नीति नगरपालिकाले लिन लागेको बजेटमा उल्लेख छ । साथै देशमा उत्पन्न हुन सक्ने खाद्य संकटको सामना गर्दै नगरलाई विभिन्न उत्पादनमा आत्मनिर्भर बनाउन क्षमता विकास तथा आयआर्जन कार्यक्रम सञ्चालन गर्न एक करोड ३० लाख बजेट व्यवस्थापन भएको छ ।
बजेटबाट कृषि तथा पशु विकास, उद्यम विकास र वडातहबाट कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । चालु आर्थिक वर्षभित्र नगरभित्रका भूमिहीनहरूलाई पूर्जा वितरणको काम गर्न २५ लाख रुपैयाँ बजेट छ । यस्तै, सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि नगरस्तरीय बजेटबाट ३० लाख व्यवस्था भएको छ । स्रोतमा नै फोहोरको वर्गीकरण गरी वातावरणमैत्री ढंगले फोहोरमैला व्यवस्थापनको आधार तयार गर्न चार करोड ५० लाख विनियोजन भएको छ ।
समयसापेक्ष संगठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्न एक करोड १० लाख विनियोजन भएको छ । यस्तै, घर नम्बरिङ, नगरको आवधिक योजना छपाइ, प्रोफाइल निर्माणजस्ता नगर महत्त्वका योजनाका लागि ४० लाख बजेट व्यवस्थापन गरिएको छ ।






















