dinvari.com

कालिकोटको तिलागुफा नगरपालिका साक्षर घोषणा

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकालाई साक्षर घोषणा गरिएको छ। बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा साक्षर पालिका घोषणा गरिएको हो।

कालिकोट जिल्लाको सातौं साक्षर पालिकाका रुपमा तिलागुफा घोषणा भएको हो। अब सन्नित्रीबेनी नगरपालिका र खाँडाचक्र नगरपालिका साक्षर घोषणा हुन बाँकी छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार तीलागुफाको जनसंख्या १६ हजार १९७ रहेको छ। नगरपालिकामा ३६ सामुदायिक विद्यालय छन्। साक्षर पालिका घोषणा गर्ने अभियान अन्तर्गत ११ ओटै वडामा सामुदायिक सिकाई केन्द्र मार्फत निरक्षर विवरण अनुसार तथ्याङ्क संकलन गरिएको थियो। जसअनुसार एक हजार ६६ जन निरक्षर रहेका छन्।

घोषणाका आधार तोकिएका १२ सूचक मध्य ९५ प्रतिशत पूरा गरेपछि साक्षर पालिका घोषणा गरिएको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

उनकाअनुसार नगरपालिकाले साक्षर अभियान अन्तर्गत सञ्चालन गरेका क्रियाकलापको निरन्तरता, सिपसँग जोड्न, सिकाईलाई निरन्तर प्रक्रिया रूपमा लिने र आगामी आर्थिक वर्षहरुमा निश्चित बजेट विनियोजन गरिने लगायतका प्रतिबद्धता जनाइएको छ। तिलागुफालाई आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य लिइएको छ।

मन्त्री भण्डारीले साक्षर नगरपालिका घोषणा सँगै पाठ्यक्रम र पाठ्यवस्तुमा लेखिएका विषयवस्तुलाई व्यावहारिक जीवनमा लागू गर्न उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने धारणा राखे। त्यसका लागि प्रमुख पर्यटकीय स्थल रारा जाने बाटोमै रहेको कालीकोटमा पर्यटन र जडीबुटीको क्षेत्रमा थुप्रै सम्भावना रहेको बताए। त्यसको कार्यान्वयनमा स्थानीय तहहरुले महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिए।

नेताहरुप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुनुको कारण बारे प्रस्ट्याउँदै निर्वाचित जनप्रतिनिधिले गाउँ समाज बनाउन ध्यान केन्द्रित हुनुपर्ने बताए। अधूरा अपुरा योजना सम्पन्न गराउन विवरण माग गरिरहेको बताए। ती अधूरा योजनाले समग्र व्यवस्था माथि नै प्रश्न उठाएको भन्दै त्यसलाई चालू आर्थिक वर्षमा सम्पन्न हुनेगरी योजनाबद्ध लागिरहेको बताए।

जिल्ला समन्वय समिति प्रमुख रञ्जित शाहीले स्वास्थ्य, शिक्षालाई नैसर्गिक अधिकार भनिएनुरुप कार्यान्वयनमा सबै तहका सरकार कटिबद्ध हुनुपर्छ बताए। वस्तुस्थिति अनुसार यहाँका नागरिकलाई साक्षर बनाई सम्बृद्ध नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री