काठमाडौँ । गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको खेलमा मुम्बइसँग २० रनले पराजित भएपछि गुजरात उपाधि दौडबाट बाहिरएको हो।
मुम्बईले अब फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सविरुद्ध खेल्नेछ। पञ्जाव पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैग्लुरुसँग ८ विकेटले पराजित भएको थियो।
दोस्रो क्वालिफायर खेल आइतबार हुनेछ।
मुम्बइले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन मात्र बनाउन सक्यो।
गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ८० रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४९ बलमा १० चौका र १ छक्का प्रहार गरे।
वासिङटन सुन्दर ४८ रन बनाउँदा जसप्रित बुमराहको बलमा बोल्ड आउट भए। सेरफाने रुदरफोर्डले २४, कुशल मेन्डिसले २० रन थपे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २८ रनको योगफल तयार पारेको थियो।
ओपनर रोहित शर्माले सर्वाधिक ८१ रनको योगदान दिए। उनले ५० बलमा ९ चौका र ४ छक्का प्रहार गर्दा प्रसिद्ध केष्णको बलमा रासिद खानको हातबाट क्याच आउट हुन पुगे।
जोनी बेरिस्टोले ४७ रन थपे। सुर्य कुमार यादवले ३३, तिलक बर्माले २५ रन थपे।
गुजरातका प्रसिद्ध कृष्ण र साइ किसोरले समान २ विकेट लिए।






















