dinvari.com

उपभोक्ताले चाहिनेभन्दा बढी सञ्चय गर्दा कर्णालीमा खाना पकाउने ग्यासको अभाव

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १ का टीकाराम सारु शनिबार खाना पकाउने ग्यास लिन नजिकको बिक्रेता कहाँ गए । खाना पकाउँदा पकाउँदै ग्यास सकिएपछि सिलिन्डर साट्न उनी पसलमा पुगेका थिए । तर, उनले सिलिन्डर साट्न पाएनन् । नियिमित सिलिन्डर साटिने पसलबाट ग्यास नपाएपछि उनी भेरी ग्यासको डिलरमा पुगे र दिनभर लाइन लागेर बेलुका मात्रै ग्यास ल्याएर घर फर्के । उनी मात्रै होइन, केही दिनयता वीरेन्द्रनगरमा आधिकारिक ग्यास बिक्रेता डिलरमा उपभोक्ताको बाक्लो भिड लागिरहेको छ । कर्णालीका अन्य जिल्लामा पनि ग्यास बिक्रेताकहाँ उपभोक्ताको भिड बाक्लो छ । कारण हो, खाडीका देशमा चर्किएको युद्ध ।

अमेरिका र इजरायलले सुरु गरेको इरानविरुद्धको युद्धको चर्को मूल्य अमेरिका र इजरायलसँगै सिंगो पश्चिम एसिया र विश्वले चुकाउनुपरिरहेको छ । आपूर्ति शृंखलामा अवरोध उत्पन्न भएसँगै नेपालमा यतिबेला आधा सिलिन्डर ग्यास बिक्री सुरु भएको छ । विश्वको २० प्रतिशत इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा इरानले निरन्तर निसाना बनाइरहँदा तेलको आपूर्ति शृंखला बिग्रिएको छ । तर, नेपालमा तत्काल इन्धन आपूर्तिमा भने समस्या आइसकेको छैन । सरकारले युद्धकै कारण तेल आपूर्तिमा समस्या हुन सक्ने भन्दै वितरणमा नयाँ प्रणाली लागू गरेको थियो, जसका कारण वीरेन्द्रनगरमा इन्धन अभाव हुने भन्दै आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डार गर्ने उपभोक्ताका कारण कृत्रिम अभाव सिर्जना भएको हो ।

वीरेन्द्रनगरमा दैनिक १ हजार २ सयको पेरिफेरीमा खाना पकाउने ग्यास खपत हुँदै आएको छ । तर, नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास दिन सुरु गरेपछि शुक्रबार मात्रै २ हजार ६७ वटा सिलिन्डर उपभोक्ताले लिएका छन् । स्थानीय ग्यास बिक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशंकामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । पहिले दैनिक सीमित संख्यामा बिक्री हुने ग्यास सिलिन्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ ।

नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपक घिमिरे बजारमा खाना पकाउने ग्यासको अभाव भन्दै फैलाइएको हल्ला निराधार रहेको बताउँछ । नेपालमा पेट्रोलियमजन्य इन्धन आपूर्ति गर्दै आएको इन्डियन आयल कर्पोरेसनले हालसम्म सहज आपूर्ति गरिरहेकाले हल्लाका पछि नलाग्न उनले अनुरोध गरे । उनका अनुसार कर्णालीमा मनकामना, राप्ती, भेरी, रेडियन्ट र नेपाल ग्यास कर्णालीले नियमित खाना पकाउने ग्यास आपूर्ति गर्दै आएका छन् ।

भेरी ग्यासका उपभोक्ता अन्य कम्पनीको तुलनामा बढी छन् । इन्धन अभाव हुने हल्लाका बीच उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर होल्ड गरेपछि विपन्न र विद्यार्थीहरू समस्यामा परेको उनको भनाइ छ । ‘इरान युद्धका कारण इन्धन आपूर्तिमा समस्या आउन सक्ने थाहा पाएपछि सम्पन्न व्यक्ति तथा व्यावसायिक घरना (होटल) ले एकभन्दा बढी सिलिन्डर खरिद गरेकाले अभाव देखिएको छ । यसको मारमा विपन्न र विद्यार्थी परेका छन्,’ उनले भने ।

आइतबारदेखि वीरेन्द्रनगरमा आधा सिलिन्डर ग्यास दिन सुरु गरिने भएकाले यो समस्या समाधान हुने उनले बताए । उनले केही गरी खाना पकाउने ग्यासको अभाव भइहाले विद्युतीय चुल्हो प्रयोगमा जोड दिनुपर्ने बताए । उनी भन्छन्, ‘एलपी ग्यासको आयात र बिक्रीवितरणको अवस्था नियमित भइरहेको र आगामी दिनमा पनि निरन्तर हुँदै जानेछ । तर, मध्यपूर्वको तनावले विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुतो नरहने सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्र इन्धन तथा ग्यास खरिद गरौँ । अनावश्यक भण्डारण नगरौँ । ग्यासको सट्टा बिजुलीको खपत बढाऔँ ।’

यस्तै, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले नियमित रूपमै आयात भइरहेकाले इन्धनको अभाव नरहेको बताउँछन । उनले भने, ‘भारतमा आयात सन्तुलन बिग्रेको खण्डमा समस्या हुने हो । इन्धन अभाव हुने हल्लाका बीच ग्राहकले बढी ग्यास भण्डार गर्न खोजेकाले अभाव देखिएको हुन सक्छ । अमेरिकाले रूसबाट एक महिनाका लागि इन्धन खरिद गर्न अनुमति दिएकाले भारतमा तत्काल आयातको चक्र बिग्रिने नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन ।’

कारबाही गर्ने प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने चेतावनी दिएको छ । खाडीका देश इरान र इजरायल युद्धमा धकेलिएपछि इन्धनको अभाव हुन सक्ने भन्दै सरकारले आपूर्तिलाई सहज बनाउन आधा भरिएको सिलिन्डर बिक्री गर्न सुरु गरेको थियो । व्यापारीहरूले यही मौकाको फाइदा उठाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ग्यासको कालो बजारी गर्न खोजेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो ।

‘यस जिल्लाका विभिन्न उपभोक्ताहरूद्वारा बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाइ भएको भन्ने गुनासो आएकाले कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्ड नगरी ग्यास तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ शुक्रबार सूचना जारी गर्दै प्रशासनले भनेको छ ।

साथै, अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्ड गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा र नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री