सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तिमा आगलागी भएको छ। आइतबार राति आगलागी हुँदा ८ वटा घर जलेर नष्ट भएका छन्।
गएराती ११ बजेदेखि लागेको आगो सोमबार बिहान करिब ५ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
स्थानीय विर्ख रावतको गोठबाट सल्केको आगोले धनबहादुर रातव र जनक रावतको घर हुँदै अन्य छिमेकीका घरमा पुगेको थियो।
स्थानीय धनबहादुर रावतका अनुसार विजन फडेरा, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन्।
आगलागी हुँदा उक्त घरहरुमा भएका अन्नपात, भाडाकुडा, नागरीकता, घरको लालपुर्जा लगायतका अन्य कागजातसहित नगद रुपैयाँ जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली गएराती २ बजे घटनास्थल पुगेर आगलागीको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिए।
स्थानीयका अनुसार आगलागीको सुरुवात विर्ख रावतको गोठबाट सुरु भएको थियो। तर, विर्खको परिवार लेखको वस्तिमा बस्दै आएका छन्।
प्रहरीका अनुसार मानवीय क्षति नभएको र अन्य क्षतिकाृ विवरण संकलन गर्ने काम भइरहेको छ।






















