सुर्खेत । कर्णाली प्रदेशको बालिका तथा समावेशी शिक्षा सञ्चालन रणनीति २०८१ को मस्यौदामाथि छलफल गरिएको छ। बुधबार वीरेन्द्रनगरमा बालिका तथा समावेशी शिक्षा सञ्चालन रणनीतिको मस्यौदा तथा कार्ययोजनाको प्रदेशस्तरीय परामर्श कार्यक्रम गरिएको हो।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल) कर्णाली प्रदेशको आयोजनामा भएको उक्त छलफल कार्यक्रममा सहभागीहरुले हत्वपूर्ण सुझावहरु राखेका थिए।
मस्यौदा छलफल कार्यक्रममा सहभागी शिक्षा तथा बालबालिका अभियान्ताहरुले रणनीतिमा भूगोल केन्द्रित, अपाङ्गतामैत्री विद्यालय पूर्वाधार, विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन, अतिरिक्त क्रियाकलापसँग जोड्ने लगायतका विषयवस्तु समावेश गर्नुपर्ने माग राखेका थिए।

यस्तै, कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय सुर्खेतकी निर्देशक दिपा हमालले रणनीतिमा समावेश हुनुपर्ने विषयबस्तुहरु एनसिइमार्फत ल्याउन अनुरोध गरिन्।
साथै उनले प्रदेशको शिक्षा योजना अन्तिम चरणमा रहेको बताउँदै प्रदेशमा गुणस्तरीय शिक्षा प्रदान लागि छुटेका बालबालिका अतिआवश्यक क्षेत्रहरुलाई रणनीतिमा समावेश गर्ने प्रतिवद्धता जनाइन्।






















