सुर्खेत । कर्णाली प्रदेशमा आयोजना गरिएको अर्गानिक खेती सम्बन्धि तालिमको समापन गरिएको छ। वीरेन्द्रनगर सुर्खेतमा खाद्य तथा कृषि संगठन (एफएओ) सँगको सहकार्यमा काठमाडौँस्थित रोयल थाइ दूतावासले आयोजना गरेको उक्त तालिमको बिहीबार समापन गरिएको हो।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा साउन १८ (आइतबार) देखि तालिम सञ्चालन भएको थियो।
अर्गानिक तालिमको समापन कार्यक्रममा बोल्दै थाइ मन्त्रीका सल्लाहकार एवं मिसनका निमित्त प्रमुख मनसुभी मनासाकुलले पहिलो पटक थाइ सरकार, एफएओ र नेपाल सरकारको सहकार्यमा नेपालमा जैविक खेतीसम्बन्धी गरिएको तालिमले नेपाल र थाइल्यान्डबीचको मित्रता र सहकार्यले एउटा महत्वपूर्ण उपलब्धिको संकेत गरेको बताइन्। उनले थाइ राजदूतावासको तर्फबाट, कर्णाली प्रदेश, कृषि विशेषज्ञहरू तथा साझेदारहरूसँग सहकार्य गर्न पाउँदा ठूलो सम्मानको अनुभव भएको उल्लेख गरिन्।

मिसनका उपप्रमुख मन्सकुलले भनिन्, ‘जैविक खेतीले दिगो भविष्यतर्फको बाटो देखाउँछ। यसले खाद्य सुरक्षा मजबुत पार्नुका साथै स्थानीय जीविकोपार्जनलाई सहयोग गर्छ। वातावरणसँग सद्भावले दिगो अभ्यासहरूलाई पनि प्रवद्र्धन गर्छ। हामी आशा गर्छौं कि यो तालिमबाट प्राप्त ज्ञान, अभ्यास र अर्गानिक उत्पादनमा प्राप्त उच्च अनुभवले यहाँहरूलाई थप सक्षम बनाउनेछ।’
अर्गानिक तालिमको समापन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले तालिमबाट प्राप्त ज्ञान सिपले कर्णालीको प्राङ्गारिक कृषि प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले भने, ‘नेपाल सरकार र थाइ सरकारको संयुक्त प्रयासमा प्राङ्गारिक कृषि प्रवद्र्धनको लागि भएको पहल मननयोग्य छ। थाइल्यान्डको कृषि र कृषि उपजको प्रशोधन र गुणस्तर कायम संसारमा अनुकरणीय भएको देखिन्छ।’
मन्त्री शाहले कर्मचारीहरुलाई अन्तराष्ट्रिय स्तरको तालिममा सहभागी गराउँन कठिन भएकोले यस तालिमबाट ७ जना विज्ञहरु नै कर्णालीमा आएर प्रशिक्षण गराउँदा एक उपलब्धिमुलक र सबैको ज्ञान सिपमा क्षमता अभिवृद्धि भएको उल्लेख गरे। उनले भने, ‘सैद्धान्तिक र व्यवहारीक ज्ञानको प्रयोग नै यो प्रशिक्षण कार्यको महत्वपूर्ण पाटो हो।’
यस्तै, मन्त्री शाहले तालिमबाट प्राङ्गारिक प्रविधिहरुको जानकारी, थाइ सरकारले लिएको नीति तथा कार्यक्रमको बारेमा जानकारी र कृषि उपजमा गरिने प्रशोधन र बजारीकरणको जानकारी दिनु प्रसंशायोग्य भएको बताउँदै थाइ राजदूतावासका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे।
साथै उनले तालिममा सहभागीहरुको क्षमता र अभिवृद्धिमा योगदान पुगेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि दुई देशबीच कृषि क्षेत्रको विकासको लागि सहयोग र समन्वय हुनेमा विश्वास व्यक्त गरे।

यस्तै, कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला सात वर्षदेखि जैविक कृषि प्रवद्र्धनका लागि अनुदानमा जैविक सामग्री वितरण, प्रयोगशालामा जैविक कीटनाशक उत्पादन, र रासायनिक कीटनाशकका नकारात्मक असरबारे जनचेतना फैलाउने कामका साथै कृषक पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गर्दै आएको जनाएको छ।
मन्त्रालयले जैविक कृषि प्रवद्र्धनका लागि विशेष ऐन र नियमहरू तयार गरेका छ भने थाइल्याण्डबाट सिकेको दीगो कृषि प्रणालीका उत्कृष्ट अभ्यासहरू सिक्न उत्साहित भएको जनाएको छ।
पाँच दिनसम्म चलेको अर्गानिक तालिममा २ दिन अधिकृत स्तरका कर्मचारीहरू र बाँकी तीन दिन कृषकहरु, व्यापारी र एग्रोभेटका सञ्चालक लगायत सहभागी भएका थिए।
सन् २०२५ अप्रिलमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच दुईपक्षीय बैठक सम्पन्न भएको थियो।
छलफलमा दुई देशबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संशाधन विकास लगायत आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने लगायतका विविध विषयमा छलफल गरिएको थियो। सोही सन्दर्भमा कर्णाली प्रदेशमा अर्गानिक खेती सम्बन्धि तालिमको आयोजना गरिएको आयोजना थाइ दूतावासले जनाएको छ। दुइ देशबीचको कुटनैतिक स्थापना भएको ६५ वर्ष भयो।






















