dinvari.com

मदन भण्डारी राजमार्गले फेर्दै छ सुर्खेतको मुहार (फाेटाे फिचरसहित)

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका– ८, कालासोताका लक्ष्मण रामजाली मगर शारीरिक रूपमा अशक्त छन् । ६६ वर्षीय लक्ष्मण आठ वर्षअघि रुखबाट लडेर शरीरको तल्लो भागले साथ दिन छोडेपछि अहिले उनको दैनिकी ह्वील चियरमा बितिरहेको छ । प्रायः सुनसान रहने उनको घरको आँगनमा ह्वील चियर यताउता गुडाउँदै दैनिकी बिताउनुबाहेक अर्को विकल्प लक्ष्मणसँग छैन ।

तर, अहिले उनलाई दैनिकी बिताउन भने निकै सहज भइरहेको छ । कारण हो, मदन भण्डारी राजमार्ग । राजमार्गको तेस्रो प्याकेजअन्तर्गत अहिले लक्ष्मणको आँगनहुँदै विद्यापुर डाडाँदेखि चौर खोला जोड्ने सडक निर्माणको काम धमाधम चलिरहेको छ । लक्ष्मणको घरको आँगनमै जोडिएर मदन भण्डारी पूर्वपश्चिम लाग्छ । ह्वील चियरमा एक्लै यताउता गरेर दिन कटाउने लक्ष्मण आजभोलि सडक निर्माणमा संलग्न मजदुरहरूले गरिरहेको काम नियालेर बस्छन् । फुर्सदमा तिर्खा मेटाउन आउने मजदुरसँग उनी सोध्छन्, ‘सर, यो बाटो कहिलेसम्म बन्ला ?’ तत्कालीन १० वर्षे माओवादी सशस्त्र युद्धका समयमा लक्ष्मणलगायतका अन्य व्यक्तिको अगुवाइमा खनिएको डोरेटो बाटो आज आएर मदन भण्डारी राजमार्गको रूप लिन्छ भन्नेमा उनले कहिल्यै कल्पनासमेत गरेका थिएनन् । यही बाटो भएर आफ्ना छोराछोरीलाई पढाउन वीरेन्द्रनगरसम्म हिँडेर रासन–पानी पुर्‍याएको उनले अझै बिर्सेका छैनन् ।

‘उतिबेला माओवादीको युद्ध चरमोत्कर्षमा थियो । हामीले यता पनि बाटो बनाउनुपर्छ भनेर मान्छे लगाएर खनेको डोरेटो बाटो हो यो । अहिले पो जताततै बाटो पुग्यो । ऊ बेला केटाकेटीलाई रासनपानी पुर्‍याउन हिँडेरै वीेरेन्द्रनगर पुग्नुपर्थ्यो । अब अहिले घरमै राजमार्ग आइपुग्यो ।’ सडक विस्तार हुने कुरा चलेसँगै जग्गाको भाउ बढेको तथा स्थानीय उत्पादनले बजार पाउन थालेको उनले बताए । सडकले पूर्णता पाए आफूलाई अस्पताल जानसमेत सहज हुने लक्ष्मणले सुनाए ।

यस्तै, पञ्चपुरी नगरपालिका– ९ का छविलाल बयक चौकुने गाउँपालिकाको गुटु खोलामा भेटिए । वर्षात्‌मा गुटु खोलामा आउने बाढीले नागरिकहरूलाई हिँडेरै गन्तव्य छिचोल्नुपर्थ्यो । जीवनको उत्कर्षसम्म यही नियति भोगेका बयकका आँखाअघि अहिले त्यही गुटु खोलामा पक्की पुल निर्माणको काम जारी छ । ८४ वर्षीय बयक दैनिक एकपटक पुलमा पुग्छन् । कामका गतिविधि नियाल्छन् । बीचमा रोकिएको कामले अब बिस्तारै गति लिन्छ होला भन्ने आशाले घर फर्किन्छन् । पुलको ढलानका लागि ठेकेदारले देखाएको जाँगरले यो वर्ष पक्कै खोलाबाट होइन, अब पुलबाटै गाडी गुड्छन् भन्नेमा बयक ढुक्क छन् ।

लक्ष्मण र छविलाल मात्रै होइन, पश्चिम सुर्खेतका नागरिकहरू यतिबेला विगतका पीडा भुल्दै चिल्लो सडकमा कहिले यात्रा गर्न पाइएला भनेर प्रतीक्षा गरिरहेका छन् । ५० को दशकमा निर्माण गरिएको जीर्ण सडकमा सास्ती भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकमा मदन भण्डारी राजमार्गले पूर्णता पाउने देखेपछि आशा पलाएको छ । पश्चिम सुर्खेत मात्रै होइन, समग्र सुर्खेत जिल्ला नै मदन भण्डारी राजमार्गका कारण मुहार फेर्ने सुरसारमा छ । यो राजमार्ग सुर्खेतका नौमध्ये छवटा स्थानीय तहको बीचभागबाट पूर्वपश्चिम लाग्छ । गुर्भाकोट, लेकबेँसी, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकाको बीच भागबाट छिचोलिने यो सडकलाई नागरिकहरूले लाइफ लाइनका रूपमा बुझेका छन् ।

यो सडकले यी पालिकाको ३ लाख २२ हजार ५ सय २१ जनसंख्यालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ दिनेछ । सुर्खेत पूर्व र पश्चिम खण्डमा मदन भण्डारी राजमार्ग आयोजनाले ठेक्का व्यवस्थापन गरेर धमाधम काम अघि बढाएपछि स्थानीय उत्साहित बनिरहेका छन् । पश्चिम सुर्खेतका नागरिकले व्यवस्थित सडकमा यात्रा गर्ने धोको अहिलेको भने होइन । २०५१ सालमै पश्चिम सुर्खेतलाई सडक सञ्जालमा जोड्न ट्र्याक खोलिएको थियो । तर, भण्डै ३१ वर्षसम्म पनि यो सडकको स्तरोन्नति नहुँदा नागरिक ४ घण्टा लाग्ने बाटोमा दुई दिन लगाएर कष्टकर यात्रा गर्न बाध्य बनिरहेका छन् । सरकारले मदन भण्डारी सडक नामकरण गरी धमाधम स्तरोन्नतिको काम अघि बढाएपछि यहाँका नागरिकमा आशाको सञ्चार भइरहेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डको कामले गति लिएसँगै बिस्तारै सडकक्षेउमा व्यवस्थित ठूला बस्ती विकास हुँदै गएका छन् भने स्थानीयहरू आर्थिक उपार्जनमा समेत जोडिँदै जान थालेका छन् । यसले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अपेक्षा राखिएको सरोकारवालाहरू बताउँछन् । मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको पूर्णतापछि कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेश पुग्न छोटा मार्गहरूसँग पहुँच विस्तार गर्नेछ । हाल कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम पुग्न सुर्खेत–कोहलपुर सडक खण्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

पश्चिम खण्डमा धमाधम काम

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले पश्चिम खण्डमा स्तरोन्नतिको काम दुई चरणमा अघि बढाइरहेको छ । सुर्खेतमा पहिलो चरणको काम थालिएको भेडाबारी–धुलियाविट सडक खण्ड सम्पन्न हुने चरणमा छ । १७ फागुन २०७९ बाट विद्यापुर–विजौरा–बल्दे सडक निर्माण सुरु भएको थियो । अहिले तेस्रो चरणमा विद्यापुर–चतुरे–चौर र बल्दै–बेतान–लगाम खण्डको २५ किलोमिटर सडकको ठेक्का व्यवस्थापन गरेर काम थालिएको छ ।

विद्यापुर डाँडादेखि दुलालथाई, चतुरे चोक भएर सडक चौर खोला जोडिनेछ । १० किलोमिटर सडक निर्माणको जिम्मा दिवा यती बिल्डर्स ललितपुरले पाएको छ । विद्यापुर डाँडाबाट सुरु गरिएको कामको हाल नयाँ सडक कटिङ, कल्भर्ट र नाला निर्माणको कामले गति लिइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इन्जिनियर रेशम वली बताउँछन् । उनका अनुसार बल्दे–लगाम १५ किलोमिटर सडक निर्माणको जिम्मा पनि यही निर्माण कम्पनीले पाएको छ । आगामी असारसम्म विद्यापुर–चौर खोला सडकमा सबबेस बिछ्याउने लक्ष्यका साथ काम भइरहेको दिवा यती बिल्डर्सका इन्चार्ज चन्द्रबहादुर खत्री बताउँछन् ।

माया तालसम्म रुख कटान सकिएको र माया ताल–लगाम २८ किलोमिटर क्षेत्रको कटानको प्रक्रियामा छ । वनको सबै प्रक्रिया अन्तिम चरणमा पुगेकाले अबको केही समयमै रुख कटान सुरु गरिने इन्जिनियर वलीले बताए । ‘दोस्रो ठेक्का व्यवस्थापनपछि निर्माण व्यवसायीले सन्तोषजनक काम गरिरहेका छन्,’ इन्जिनियर वलीले भन्छन्, ‘यहीँ गतिमा काम भए असारसम्म ग्राभेल हुनेमा विश्वस्त छौँ ।’

२५ किलोमिटर सडक निर्माणका लागि १ अर्ब ३६ करोडमा यती बिल्डर्ससँग १४ भदौ २०८१ मा सम्झौता भएको उनले बताए । पश्चिम खण्डमा सडक विस्तारका लागि अधिकांश स्थानहरूमा विवाद समाधान भइसकेको छ । बाँकी रहेका स्थानमा पनि विवाद समाधानको प्रयास भइरहेको इन्जिनियर वलीले बताए । सुर्खेत खण्डमा निर्माण थालिएको सडक उत्कृष्ट डिजाइनमा तयार पारिएको वलीले बताए ।

नयाँ प्रविधिमा कालोपत्रे

सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम जोडिन्छ । यो खण्डमा राजमार्गको दूरी ८५ किलोमिटर छ । मदन भण्डारी राजमार्ग आयोजनाले विद्यापुर–गुटु–बिजौरा–बल्दे करिब २३ किलोमिटर सडक निर्माण १७ फागुन २०७९ बाट सुरु गरेको थियो । १ अर्ब २१ करोड लागतमा रहेको सडक निर्माणको जिम्मा बानियाँ मोतिदान डीएस जेभी काठमाडौंले पाएको छ । चालु आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्न बेस बिछ्याउने काम सुरु गरिएको इन्जिनियर वलीले बताए । ‘पहिलोपटक राष्ट्रिय राजमार्गमा अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्दै छौँ,’ वली भन्छन्, ‘वीरेन्द्रनगरमा साना सडकहरू यो प्रविधिबाट कालोपत्रे गरिए पनि राजमार्गमा यो प्रविधि सुरुवात गर्दै छौँ ।’

असारसम्म काम भएका सबै सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको बानियाँ मोतिदान डीएस जेभी काठमाडौंका सञ्चालक विकास गौतमले बताए । ‘९० प्रतिशत भौतिक प्रगति सकिएको छ, निर्माण सम्पन्न मिति १६ फागुन २०८२ भए पनि असारमै सक्ने गरी बाँकी कामहरू युद्धस्तरमा गरिरहेका छौँ ।’ विद्यापुरदेखि बिजौरानजिकसम्म कालोपत्रे सक्ने लक्ष्य कार्यालयको छ ।

पूर्वी खण्डमा गुड्न थाले व्यावसायिक सवारी

मदन भण्डारी राजमार्गअन्तर्गत सुरु विन्दु सुर्खेतको पूर्वी खण्डको स्तरोन्नतिको काम झण्डै अन्तिम चरणमा पुगेको छ । पूर्वी खण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित भेडाबारीबाट सुरु भई वीरेन्द्रनगर नगरपालिकाको धुलियाबिट पुगेर टुङ्गिने ३५ किलोमिटर खण्डमध्ये २५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी अयोजना कार्यालयका इन्जिनियर रेशम वली बताउँछन् । बाँकी खण्डमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आउँदो असार मसान्तभित्रै ३५ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुने उनले बताए ।

यस खण्डमा पर्ने अधिकांश पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् । कालोपत्रे गर्न बाँकी १० किलोमिटरमा बेस बिछ्याउने, शाखा सडक निर्माणलगायतका कामहरू धमाधम भइरहेको वलीले बताए । यो सडक खण्ड अन्तिम चरणमा पुगेसँगै दैनिक निजी, यात्रु तथा मालवाहक सवारीसमेत चल्न सुरु भइसकेका छन् । यो खण्ड भएर सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, दाङहुँदै संघीय राजधानी काठमाडौं पुग्ने व्यावसायिक यात्रु र मालवाहक सवारी साधनहरू सञ्चालनमा आउन थालेका छन् । यो खण्ड निर्माणको जिम्मा १ अर्ब ३ करोड रुपैयाँको लागतमा कालिका केएस भेरासी जेभीले लिएको छ ।

सुर्खेत जिल्लाको पूर्वी गुर्भाकोटको भेडाबारीबाट सुरु भएको यो राजमार्गले पश्चिम चौकुने गाउँपालिकाको बेनीघाटहुँदै सुदूरपश्चिमको डोटी जिल्ला प्रवेश गर्छ । मदन भण्डारीले सुर्खेतमा मात्रै झण्डै १ सय ५८ किलोमिटर भाग समेट्छ । योमध्ये भेडाबारी–बोटेचौर–रैकर–बालुवासङ्ग्रही (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिब १२, धुलियाबिट–बाङ्गेसिमल (फोरलेन) सडक आठ र बाङ्गेसिमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेका छन् । बाँकी खण्डमा मदन भण्डारी र कर्णाली सरकारले काम गरिरहेकाले अबको तीन वर्षमा यो राजमार्गले पूर्णता पाउनेछ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले सुर्खेत खण्डमा २८ असार २०७८ देखि काम थालेको थियो ।

६ जेठ २०७५ मा स्वीकृत भई मदन भण्डारी राजमार्गका रूपमा यो सडकलाई संघीय सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाइरहेको छ । झापाको बाहुनडाँगीबाट सुरु भएको राजमार्ग डडेल्धुराको रुपाल पुगेर टुङ्गिनेछ । यो राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि दुन उपत्यका तथा भित्री मधेश छिचोल्दै पश्चिमी सीमा (महाकाली नदी) सम्म करिब १२ सय किलोमिटर लामो हुनेछ । राजमार्ग झापा बाहुनडाँगीबाट सुरु भई शान्तिनगर, चुलाचुली, धरान, चतरा, बेल्टार, गाईघाट, सिन्धुली, हेटौँडा, गैँडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्नेछ ।

अन्तिम अद्यावधिक मिति: २०८१ चैत्र ४, सोमबार ११:०३

दिनभरी समाचार

दिनभरी चर्चित