सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालमा रहेको ड्रागन फ्रुट फर्मको अनुगमन गरेका छन्। मन्त्री शाहले बुधबार कृषकहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सुमन सुवेदीले सञ्चालन गरेको कर्णाली ड्रागन कृषि तथा पशुपंक्षी फर्मको अवलोकन गरेका हुन्।
दक्षिण कोरीयाबाट स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका सुमनका श्रीमान कृष्ण अधिकारीले कोभिड–१९ को महामारीकाे समयमा ड्रागन खेती गर्ने निधाे गरेसँगै फर्मको सुरुवात गरेका थिए।

२३ कट्टा जग्गामा ४५ लाखको लगानीमा बार्षिक ६० क्विनटल ड्रागन फ्रुट र ३ हजार बिरुवा क्षमताको टनेलबाट बिरुवा बिक्री गरेर २३ लाखसम्म आम्दानी गर्दै आएको किसान कृष्णले बताए।
उनले बार्षिक एक लाख रुपैयाँ तिर्ने गरी जग्गा भाडामा लिएर शुरु गरेको ड्रागन कृषि फर्ममा हाल ९ सय बढी पोलमा ड्रागन फलाएर बिक्री गरिरहेका छन्। बगैँचाका लागि आवश्यक पर्ने मल गाईबस्तुको गोबर र गड्यौला मलबाट पुर्ती गर्दै आएका छन्।
यस्तै, जेठदेखि मंसिरसम्म फल्ने र एकैपटक बजार व्यवस्थापन गर्न गाह्रो भएकाले ड्रागन फ्रुटका लागि कोल्ड स्टोर व्यवस्थापनका लागि मन्त्री समक्ष आग्रह गरे।
साथै किसान कृष्ण अधिकारीले कोल्ड स्टोरको व्यवस्थापन भएको खण्डमा अफ सिजनमा बिक्री गर्न सहज हुने र कृषकले सोचे अनुरुप मूल्य प्राप्त गरि उपभोक्ता माझ पु¥याउँन सहज हुने बताए। साथै उनले ड्रागन फ्रुट फलको ग्रेडिङ्ग गर्न आवश्यक रहेको उल्लेख गरे।

अनुगमन पछि मन्त्री शाहले अन्य किसानहरुका लागि कृष्ण अधिकारी र सुमन सुवेदी प्रेरणका स्रोत भएको बताए। उनले भने, ‘उहाँहरु जस्तै कृषकहरु भएको खण्डमा हाम्रो देश गरीब हुदैन्। सम्पन्न हुन्छ। सबै कृषक व्यवसायिक बनेर देश आत्मनिर्भर बन्छ।’
यस्तै, मन्त्री शाहले युवाहरु नेपालमै बसेर बाँझो जमिन उपयोग गरी समग्र कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढाएको खण्डमा नेपाल समृद्ध बन्न कुनै समय नलाग्ने बताए। साथै उनले नेपालमै कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सुमन र कृष्ण जस्ता युवा कृषि व्यवसायी उदाहरण भएको बताए।






















