dinvari.com

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको शिलान्यास

सुर्खेत । कर्णाली प्रदेश सरकारले बनाउन लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको सोमबार शिलान्यास गरिएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्।

पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्यले कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भवन बनाउन लागेको हो।

मन्त्रालय मातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालय (वीरेन्द्रनगर, सुर्खेत) को परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाका लागि भवन निर्माण थाल्न लागिएको हो।

प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुने अपेक्षा गरिएको छ।

मन्त्रालयले गत आर्थिक वर्षमा ४० लाखका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अगाडि बढाएको थियो।

सोहीअनुसार चालु आर्थिक वर्षमा ४ करोड ८५ लाख बजेट विनियोजन गरेर कर्णाली प्रदेशमा प्लान्ट बनाउन लागिएको हो।

‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउनलगायत उन्नत जातका पाडा/बाच्छा उत्पादनमा टेवा पुग्नेछ।

पहिला प्रदेश बाहिरबाट आयत गर्दै आएको पशुको वीर्य कर्णालीमै ‘तरल नाइट्रोजन प्लान्ट’को स्थापनापछि पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान नश्ल सुधारका लागि सहज हुने भएको छ।

मन्त्रालयका मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने बताए।

उनका अनुसार दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार प्रभावकारी हुनेछ।

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री