सुर्खेत । बैशाख ५ गतेदेखि सुरु भएको ६ दिने होटल व्यवसायी र प्रशोधनकर्ताहरुलाई रैथाने बालीहरुको परिकार निर्माण सम्बन्धि तालिमको समापन गरिएको छ। बुधबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले समापन गरेका हुन्।
(बैशाख ५ गतेदेखि १० गते) ६ दिनसम्म चलेको तालिममा १९ जना सहभागी थिए।
उनिहरुले तालिमप्श्चाप समापन कार्यक्रममा कागुनोको खिर, फापरको पिज्जा, फापर र कोदोको थुक्पा, चाउमिन, कोदोको पाउरोटी, जौको कुकिज, फापरको बटर केक, नम्किन, डुनट लगायतका परिकारहरु तयार गरि प्रदर्शनीमा रोखेका थिए।

समापन कार्यक्रममा बोल्दै मन्त्रीशाहले छोटो अवधिमा सहभागीहरूले बनाएको परिकार हेर्दा बजारको प्याकिङ गरिएको भन्दा धेरै राम्रो र शुद्धता आएको बताए।
उनले भने, ‘बजारमा मैदाजन्य बस्तुबाट बनेका खानेकुराले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ। रैथाने बालीबाट बनेका परिकारले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ। ६ दिनको तालिमको राम्रो परिणाम निस्केको छ। जो नियमित आफ्नो जीवनमा प्रयोग सँगै ती परिकारहरूलाई व्यवसायीक रुपमा स्थापित गर्न आवश्यक छ।’
यस्तै, मन्त्री शाहले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेश बनाउने र रैथाने बालीलाई स्थापित गर्ने कुरामा सरकार प्रतिबद्ध भएर दाबी गरे।























