dinvari.com

भेरीगंगाका दुग्ध व्यवसायीसँग अन्तरक्रिया

सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेतका दुग्ध व्यवसायीहरुसँग अन्तरक्रिया गरिएको छ। बुधबार भेरीगंगा नगरपालिका पशुपन्छी शाखाको आयोजनामा अन्तरक्रिया गरिएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा पालिकाभित्र दुध डेरी सञ्चालन गरीरहेका व्यवसायी, भैंसी तथा गाई पालन किसान र सहकारीबाट प्रतिनिधित्व रहेको थियो।

अन्तरक्रियामा सहभागी पशुपालन किसान तथा दुग्ध व्यवसायीहरुले दुध विक्रीको भुक्तानी समयमै पाउन नसकेको, स्थानीय तथा प्रदेश सरकाले दिने अनुदान वास्तविक किसानहरुले नपपाएको, दुध उत्पादन बढेको समयमा बजारीकरण नभएको लगायतका समस्याहरुको उठान गरेका थिए।

उक्त अन्तरक्रियामा बोल्दै भेरीगंगा नगरपालिकाकी उप–प्रमुख धनसरा बोहोराले स्थानीय सरकारको आन्तरिक स्रोतबाट किसानहरुका सबै मागहरु एकै पट्क पूरा गर्नका लागि समस्या हुने गरेको बताइन्।

स्रोत अभावकैबीच सबैको सल्लाह सुझाव अनुसरा नगरपालिकाले पशुपन्छी र कृषि सम्बन्धि कार्यक्रम गरिरहेको बोहराले बताइन्।

यस्तै, अन्तरक्रियामा बोल्दै कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले भेरीगंगा र गुर्भाकोट नगरपालिकाहरु दूध तथा मासुमा आत्मनिर्भरतर्फ अगाडी बढेको भन्दै खुशी व्यक्त गरे।

मन्त्री शाहले भेरीगंगा नगरपालिका पशुपालनको लागि राम्रो सम्भावना भएको बताउँदै यसको विकासमा लाग्न अनुरोध गरे। ‘पशुपालन किसान तथा दुग्ध व्यावसायीहरु यस पेशाबाट पछि नहट्न अनुरोध छ। सरकारको पक्षबाट हुने सबै सहयोग गर्न सरकार तयार छ। इमान्दार किसानहरुका लागि ५० प्रतिशत कर्णाली प्रदेश सरकारले अनुदान दिँदै आएको छ।’

यस्तै, मन्त्री शाहले सरकारले मल, बीउ, दुध, मासु लगायतका क्षेत्रमा पनि काम गरिरहेको बताए। उनले भने, ‘किसानका सबै समस्यामा म भिजेको छु। आगामी वर्षको कार्यविधि बनाउँदा सरकारले ध्यान दिनेछ। हामीले पाँच हेक्टरमा बगैंचा स्थापना गर्ने कृषकका लागि सरकारले व्याज तिर्ने नीति पनि लिएका छौँ। साथै खोरेत मुक्त अभियान तथा पशुस्रोत केन्द्र स्थापना लगायतका कार्यक्रम बजेटमा समावेश छन्।’

यस्तै, भेरीगंगा नगरपालिका पशुपन्छी विकास शाखा प्रमुख डाक्टर लोकेन्द्रबहादुर खड्काले पालिकामा २ सय २३ दुहुनो गाईहरु र ४ हजार ७५३ वटा दुहुनो भैंसीहरु रहेको बताए। डाक्टर खड्काका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा दुग्ध उत्पादन प्रोत्साहनका लागि विभिन्न ६ वटा कार्यहरु गरेका थियो। जसमा भकारो सुधार ५८ वटा, खोर सुधार ३० वटा, सादा चारा मेसिन ५३ वटा, इलेक्ट्रिक मेसिन ३२ वटा, दैनिक रुपमा पशुपन्छी उपचार र दुग्ध उत्पादन किसानहरुलाई निशुल्क परामर्श सेवा थिए।

भेरीगंगा नगरपालिका भित्र रहेका दूध संकलन केन्द्र तथा डेरी पसलहरु ३० वटा रहेको डक्टर खड्काले जानकारी दिए।

यस्तै, दुग्ध संकलन केन्द्रका प्रमुख समस्याहरुमा चिस्यान सुविधा अभाव, सञ्चालन र व्यवस्थापन कमजोर, संकलन उपकरणको कमी, सफाइ र स्वच्छतामा कमी  मूल्य निर्धारण र भुक्तानी समस्याहरू, ढुवानी समस्या, दूध ढुवानीमा उपयुक्त साधन नहुनु, दुग्ध सप्लाइ चेनमा ढिलाइ र खराबी, प्राविधिक परीक्षणको कमी दूध गुणस्तर जाँच गर्ने ल्याब सुविधा नहुनु र किसान र सहकारीबीच विश्वास अभाव रहेको नगरपालिकाले जनाएको छ।

अन्तिम अद्यावधिक मिति: २०८२ असार २६, बिहीबार १९:५८

दिनभरी समाचार

दिनभरी चर्चित

सम्बन्धित सामाग्री