सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। काठमाडौँबाट रुकुमपश्चिको राडीका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस दुर्घटनामा परेको हो।
शनिबार दिउँसो १ बजे ४० मिनेटको समयमा भेरी करिडोर अन्तरगत आठबीसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खस्दा ९ जना यात्रु घाइते भएका छन्।
घाइतेहरुको प्रहरी तथा स्थानीयहरुको सहयोगमा उद्धार गरेर आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा धादिङ्गको खाग्री गाउँपालिका १ बस्ने ३१ वर्षीय बस चालक खड्कबहादुर तामाङ्ग, सोही पालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय भीमबहादुर भुलन, रुकुमपश्चिको आठबीसकोट नगरपालिका ९ बस्ने ३१ वर्षीय प्रकाश गौतम, वडा नम्बर ११ बस्ने १७ वर्षीय गशेण रसाइली रहेका छन्।
यस्तै, जाजरकोटको नलगाड नगरपालिका ८ बस्ने ४५ वर्षीय भिमकुमारी चदारा, उनको १० वर्षीय छोरा मानबहादुर चदारा, नलगाड १२ नम्बर वडा बस्ने २५ वर्षीय सङकमारी वि.क, मोरङ जिल्लाको खेरुवा नगरपालिका ५ बस्ने २८ वर्षीय आकाश काफ्ले र दोलखा जिल्लाको भिमेश्वर नगरपालिका ७ बस्ने २६ वर्षीय प्रकाश मगराठी घाइते भएका छन्।






















