सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक समीक्षा गोष्ठी सुरु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा मन्त्रालयका सविच परशुराम रावतको अध्यक्षता र मन्त्री विनोदकुमार शाहको प्रमुख आतिथ्यतामा समीक्षा गोष्ठी सुरु भएको हो।
दुई दिन (माघ १० र ११) गते चल्ने समीक्षा गोष्ठीमा मन्त्रालय मातहतका २६ वटा कार्यालयहरुका प्रमुखले हालसम्म प्रगति विवरण प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

२ दिनसम्म चल्ने गोष्ठिीमा बोल्दै मन्त्रालयका सचिव परशुराम रावतले सहभागी कर्मचारीहरुलाई आचारसहिंता लगायतका विषयमा जानकारी गराएका थिए।
समीक्षा गोष्ठीमा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सबै कार्यालय प्रमुखहरुलाई यथार्थ विवरण प्रस्तुत गर्न आग्रह गरे। उनले विभिन्न कार्यालयबाट समीक्षा गोष्ठीमा सहभागी प्रमुख तथा प्रतिनिधिहरुले यथार्थ विवरण प्रस्तुत गरेको खण्डमा सरकारले आगामी दिनमा नयाँ काम गर्नका लागि सहयोग पुग्ने बताए।
उनले भने, ‘विगतका वर्षहरु भन्दा यसवर्ष बजेट खर्च बढेको छ। तर, यस वर्ष सरकारले ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। सबै कर्मचारीहरुले यसमा ध्यान दिनुभयो भने सफलता मिल्छ।’
यस्तै मन्त्री शाहले कामको गति सुस्त भएको बताउँदै कर्मचारीहरुलाई काममा जागर देखाएर काम गर्दा मन्त्रालयले एउटा लयमा अगाडी बढ्ने विश्वास व्यक्त गरे।
समीक्षा गोष्ठीको सञ्चालन मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापाले गरेका थिए।























