सुर्खेत । प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा प्रदेश सरकारले गरेको छ । बुधबार कर्णाली प्रदेशसमाभा आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्ती गर्न लागिएको घोषणा गरेका हुन् । संघीयतापछि प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गरिरहेको प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्ती गर्ने भन्ने विषयमा अन्यौलता रहदै आएको छ ।
यसअघिका नीति तथा कार्यक्रममा पनि यो विषय समावेश हुँदै आएको थियो । प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्ती गर्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन गर्न बनेको समितिले दिएको सुझावका आधारमा आगामी वर्षबाट अस्पताललाई प्रतिष्ठानका रुपमा स्तोरोन्तीको कार्य सुभारम्भ हुने प्रदेश प्रमुख मियाँले बताए । यस्तै, सुर्खेत मेडिकल कलेज स्थापनाका लागि संघीय सरकारसँग समन्वयसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यलाई निरन्तरता दिइने प्रदेश सरकारले जनाएको छ ।
नीति, कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख मियाँले समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित रहने बताए । प्रदेशको आर्थिक, सामाजिक अवस्था र भौगोलिक स्थितिलाई दृष्टिगत गर्दै विकास प्रक्रियामा संघ, प्रदेश, स्थानीय तह, निजी, गैरसरकारी, सामुदायिक क्षेत्र, विकास साझेदारहरूबीच सहकार्यमुलक विकास ढाँचा अवलम्बन गर्ने नीति लिइने उनले बताए । प्रदेश सरकारले आगामी वर्षबाट कर्णालीमा उत्पादन हुने स्याउको विकासमा लागि छुट्टै स्याउ विकास बोर्ड स्थापना गर्ने भएको छ । उक्त अधिकार सम्पन्न बोर्डले स्याउ खेतिको सम्भावना अध्ययनदेखि भण्डार र बजारीकरणमा काम गर्ने जनाइएको छ । आगामी वर्षबाट कर्णालीको बुटी, जटिबुटी भन्ने मुल ध्येयका साथ कर्णालीका जडिबुटी पाईने लेक तथा पाटन संरक्षण गर्ने नीति लिइने प्रदेश सरकारले भनेको छ ।
आगामी वर्ष प्रदेश सरकारले कृषि रणनीतिक आयोजना कार्यान्वयन गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गरी कृषि उत्पादनमा आत्मनिर्भर र निर्यातमा प्रोत्साहन गर्ने नीति लिने जनाएको छ । जस अन्तर्गत पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने किसानलाई कर्जामा व्याज अनुदान दिइने र दुई हेक्टरभन्दा बढी जग्गामा खेती गर्ने कृर्षक सहकारी र समूहलाई पनि अनुदान दिइने प्रदेश प्रमुख मियाँले बताए । बाह्रैमास सिंचाई पुग्ने प्रणालीको विकास गरिने उनले बताए । यस्तै, कर्णालीका ठुला परियोजना भेरी कोरिडोर, कर्णाली कोरिडोर र सुर्खेत विमानस्थल विस्तारमा संघीय सरकारलाई गरिदै आएको अनुरोधले सार्थकता पाउँदै बजेटमा बृद्धि भएको बताए । कर्णालीमा कार्यान्वयन भइरहेको भेरी–बबई डाइभर्सन परियोजनाबाट प्राप्त रोयल्टीको पहिलो हक कर्णालीले लिने गरी नीति तय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले जाजरकोट भूकम्पछि क्षति पुगेका पुनर्निर्माण गर्न बाँकी शिक्षा र स्वास्थ्य लगायतका सार्वजनिक तथा निजी आवासिय भवनको पुनर्निर्माणमा तिव्रता दिइने जनाइएको छ । यस्तै, भूकम्प प्रभावित क्षेत्रका युवाहरुलाई उद्यममा जोड्न सहुलियतपूर्णकर्जा लगायतका प्रोत्साहन जन्य कार्यक्रम अघि सारिने उनले बताए । अन्तर प्रदेश सडक सञ्जाल अन्तर्गत सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी वर्षमा कर्णालीलाई टुइन मुक्त बनाइने दावी प्रदेश सरकारको छ ।
यस्तै, कर्णालीका स्थानीय तहका केन्द्रलाई जोड्न सुविधा सम्पन्न सडक सञ्जालसँग जोड्न प्रदेश सडक गुरुयोजना अन्तर्गत काम गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रमा उल्लेख छ । आगामी वर्ष कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न पूर्वाधारलाई पूर्णता दिइने प्रदेश सरकारले जनाएको छ । जस अन्तर्गत कर्णालीमा सबै खेलहरु सञ्चालन गर्न सकिने गरी मागका आधारमा खेलपूर्वाधार निर्माण गरिने सरकारको दावी छ । कर्णालीको खेल विकासमा पाँच ‘प’ (पूर्वाधार, प्रतियोगिता, पुरस्कार, प्रतिभा छनौट तथा प्रशिक्षण) को अवधारणा अवलम्बन गरिने प्रदेश सरकारको दावी छ ।
यस्तै, प्रदेशमा २० मेगावाटसम्मका जलविद्युत आयोजनाको उत्पादन सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रसँगको सह–लगानीमा निर्माण गर्ने नीति लिइने जनाइएको छ । स्थानीय पूर्वाधार विकासका अतिरिक्त सीप तथा उद्यम विसकाका कार्यक्रममार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना हुने गरी पुनसंरचना गरिने छ । यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय पूर्वाधार विकासका अतिरिक्त सीप तथा उद्यम विसकाका कार्यक्रममार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना हुने गरी पुनर्संरचना गरिने प्रदेश सरकारको दावी छ ।
हेर्नुहोस् पूर्णपाठ ।






















